नेपाली खबरिलाल
ड्यालस, टेक्सास
अमेरिकामा रहेका नेपाली समुदायमा दिपावली पर्बको रौनक बढेको छ । प्रवासी नेपालीहरु हिन्दु नेपालीहरुको दोश्रो ठूलो पर्ब दिपावली धुमाधामसँग मनाई रहेका छन । बिहिबार यहाँका नेपाली समुदायले घरघरमा लक्ष्मीको पूजाआजा गरेर लक्ष्मी पूजा अर्थात गाई तिहार मनाएका छन । नेपाली समुदायको बसोबास रहेका बस्तीहरुमा दैनिक देउसी भैलो गुन्जिरहेका छन । देउसी भैलोमा नेपाली समुदायले उत्साहपूर्ण सहभागिता जनाईरहेका छन ।
यहाँका नेपाली बजारहरुमा दिपावलीको सामान किन्नेहरुको दैनिक भिड लाग्ने गरेको छ । यहाँका अमेरिकन तथा नेपालीहरुले सन्चालन गरेको फार्ममा खसि किन्नेहरुको पनि बाक्लै भिड देखिने गरेको छ । यहाँका नेपाली तथा भारतीय व्यवसायीहरुले पनि एशियन सँस्कृति अनुसारका सबै सामानहरु उपलब्ध गराउने भएकाले पनि सँस्कृति तथा चाडपर्बहरु मनाउन अभाव महसुस नभएको नेपालीहरु बताउँछन ।
यसपटक बिदाको दिन शनिबार आईतबार दिपावली परेकाले पनि अमेरिकामा बसोवास गर्ने नेपालीहरुलाई सहज भएको छ । प्रवासमा रहँदा सबै भन्दा बढी सम्झना हुने कुरा मध्य चाड पर्ब, सँस्कृति पनि हो । आफु ३ महिना अघि नेपालबाट अमेरिका आएको र यहाँ दशै तिहारमा देखिएको रौनक, उत्साहले नेपालमै भएको अनुभूति भएको फोर्टवर्थका गोकर्ण ओझाले बताए ।
हसलेटका लक्ष्मण कुँवरका अनुसार बिहिवार दिपावली अन्तरगत लक्ष्मी पूजाका साथै अमेरिकाको प्रसिद्ध हेलोवीन पर्ब पनि सँगै परेकाले नेपाली तथा अमेरिकनहरु बलबालिकाहरु राती अबेर सम्म रमाईलो गरेका थिए ।
दिपावली पर्बको अवसरमा नेपाली समुदायका जातीय तथा क्षेत्रीय स्तरका सँस्थाहरुले सामुहिक देउसी भैलो कार्यक्रम आयोजना गरेका छन । नेपाली समाज टेक्सासको ग्लोबल नेपाली पाठशाला, सुदूरपश्चिम नेपाली समाज टेक्सास लगायतका सँस्थाहरुले कोष बृद्धिका लागि देउसी भैलो कार्यक्रमको आयोजना गर्दैछन ।
हामीले नेपाली ग्लोबल पाठशालामा पुस्तकालय स्थापनार्थ कोष बृद्धिको लागि पाठशालाका भाई बहिनी, शिक्षक तथा सामाजिक अभियन्ताहरुको सहभागितामा देउसी भैलो खेल्दै छौं । हामीले हाम्रा चाडपर्ब तथा सँस्कृतिहरु नयाँ पुस्तामा हस्तान्तरण गर्ने पनि अर्को उद्देश्य भएकाले मौलिक रुपमा देउसी भैलो खेल्न लागेको नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले बताए ।
प्रवासी नेपाली मन्च टेक्सास राज्य कमिटी, ईन्द्रणी साँस्कृतिक सँघ टेक्सासले पनि शनिबार ड्यालस फोर्टवर्थ क्षेत्रमा देउसी भैलो तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्दै छ ।
टेक्सासको राजधानी अस्टिन तथा ह्युस्टनमा रहेका नेपाली समुदायले पनि देउसी भैलो खेलेर यस बर्षको दिपावली पर्ब धुमधामसँग मनाईरहेको जनाएका छन । यसै गरि ग्रेटर अस्टिन नेपाली समाज अस्टिनले पनि तिहारको अवसरमा सामुहिक देउसी भैलो कार्यक्रमको आयोजना गरिरहेको जनाएको छ।
अमेरिकाको टेक्सासमा नेपालीहरुको बसोवास बाक्लिदै गएकोले यहाँ नेपालीका चाडपर्ब तथा सार्बजनिक कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुँदै गएको छ ।
