नेपाली खबरीलाल
युलेस, टेक्सस ।
टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले यस वर्ष पनि आगामी अक्टोबर ३१, २०२६, शनिबार ‘बृहत् रक्तदान कार्यक्रम’ आयोजना गर्ने भएका छन्। नेपाली समाज टेक्सस र ब्लड डोनर्स अफ अमेरिका टेक्ससले युलेसमा उक्त रक्तदान कार्यक्रम आयोजना गर्न लागेका हुन्। कार्यक्रम युलेस पब्लिक लाइब्रेरी, २०१ एन. एक्टर ड्राइभ, युलेस, टेक्ससमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ।
आयोजकका अनुसार नेपाली समाज टेक्सस र ब्लड डोनर्स अफ अमेरिकाले रक्तदान कार्यक्रमको व्यवस्थापन गर्ने भए पनि ड्यालस–फोर्टवर्थ क्षेत्रमा सक्रिय नेपाली समुदायका विभिन्न जातीय तथा क्षेत्रीय संस्थाहरूको पनि उल्लेख्य सहभागिता रहनेछ।
नेपालीसहित स्थानीय समुदायलाई रक्तदानका बारेमा जनचेतना अभिवृद्धि गराउँदै बृहत् रूपमा सहभागी गराउने उद्देश्यले उक्त रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो।
“रक्तदान गरौँ, जीवन बचाऔँ – समुदायलाई अझ बलियो बनाऔँ” भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा एक पटकको रक्तदानबाट तीन जनासम्मको जीवन बचाउन सहयोग पुग्न सक्ने बताइएको छ।
कार्यक्रमले समुदायमा रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यकतामा रहेका बिरामी तथा दुर्घटनालगायतका अवस्थामा रगतको उपलब्धता सहज बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
रक्तदानलाई मानवीय सेवासँग जोड्दै आयोजकले समुदायका सदस्यहरूलाई कार्यक्रममा सक्रिय सहभागिता जनाई रक्तदान गर्न आह्वान गरेका छन्।

