नेपाली खबरीलाल
ड्यालस, टेक्सस
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सानफ्रान्सिस्कोमा रहेको नेपाली महावाणिज्य दूतावास पुनःस्थापना गरी नियमित कन्सुलर सेवा सञ्चालन गर्न नेपाली जनसम्पर्क समिति अमेरिका (नेसजअ) ले नेपाल सरकारसँग माग गरेको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई नेसजअको नर्दन क्यालिफोर्निया च्याप्टरमार्फत ज्ञापनपत्र बुझाउँदै सानफ्रान्सिस्कोस्थित महावाणिज्य दूतावास पुनःस्थापना गरी सेवा सुचारु गर्न माग गरिएको हो।
ज्ञापनपत्रमा सानफ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावास पश्चिमी अमेरिकी राज्यमा बसोबास गर्ने नेपाली समुदायका लागि राहदानी, यात्रा कागजातलगायत विभिन्न कन्सुलर सेवा उपलब्ध गराउने महत्वपूर्ण केन्द्रका रूपमा रहेको उल्लेख गरिएको छ। दूतावास बन्द भएपछि क्यालिफोर्नियालगायत पश्चिमी राज्यमा बसोबास गर्ने नेपालीलाई कन्सुलर सेवा लिन थप कठिनाइ भइरहेको भन्दै यसको पुनःस्थापना गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइएको हो।
महावाणिज्य दूतावास पुनःस्थापनाले पश्चिमी अमेरिकी राज्यमा रहेका नेपाली समुदायलाई सहज रूपमा कन्सुलर सेवा उपलब्ध हुनुका साथै नेपालसँगको सामाजिक, आर्थिक, सांस्कृतिक तथा कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
न्युयोर्कमा शनिबार गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका पदाधिकारी तथा सदस्यहरूले परराष्ट्रमन्त्री खनाललाई प्रवासी नेपालीले भोगिरहेका विभिन्न समस्या तथा जनसरोकारका विषयबारे समेत ध्यानाकर्षण गराएका थिए।
भोटेकोशी विपत्तिपछि नेपालीलाई TPS उपलब्ध गराउन पहल गर्न माग
यसैगरी, सोही कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाको न्युयोर्क च्याप्टरले नेपालमा आएको भोटेकोशी प्राकृतिक विपत्तिलाई दृष्टिगत गर्दै अमेरिकामा बसोबास गर्ने नेपालीका लागि Temporary Protected Status (TPS) उपलब्ध गराउन अमेरिकी सरकारसमक्ष कूटनीतिक पहल गर्न नेपाल सरकारसँग आग्रह गर्दै अर्को ज्ञापनपत्र बुझाएको थियो।
ज्ञापनपत्रमा प्राकृतिक विपत्तिबाट उत्पन्न मानवीय अवस्थालाई ध्यानमा राख्दै अमेरिकामा रहेका नेपालीको पारिवारिक एकता, सुरक्षित जीवनयापन तथा तत्काल नेपाल फर्कन सक्ने सम्भावित कठिनाइलाई समेत विचार गरी आवश्यक कूटनीतिक पहल गर्न आग्रह गरिएको छ।
त्यस्तै, TPS का लागि आवश्यक तथ्य, प्रमाण तथा मानवीय अवस्थासम्बन्धी विवरण संकलन गरी अमेरिकी सम्बन्धित निकायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नसमेत नेपाल सरकारसँग अनुरोध गरिएको छ।
दुवै च्याप्टरका पदाधिकारीको सहभागिता
नर्दन क्यालिफोर्निया च्याप्टरको ज्ञापनपत्र समितिकी केन्द्रीय सहमहामन्त्री अनिता परियारले वाचन गर्नुभएको थियो भने न्युयोर्क च्याप्टरका तर्फबाट महामन्त्री सुवास केसीले ज्ञापनपत्र बुझाउँदै त्यसका मुख्य विषयवस्तुबारे जानकारी गराउनुभएको थियो।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य खगेन्द्र क्षेत्री, नेपाली जनसम्पर्क समिति अमेरिकाका उपसभापति संजिव श्रेष्ठ, निमा बम्जन, सहमहामन्त्री अनिता परियार, केन्द्रीय सदस्य मिन खड्का, दिनेश ढाँगीलगायतको सहभागिता थियो।
त्यस्तै, न्युयोर्क च्याप्टरका वरिष्ठ उपसभापति न्वाङ पुरी शेर्पा, उपाध्यक्ष भीमसेन श्रेष्ठ, महामन्त्री सुवास केसी तथा सदस्यहरू महदत्त कडेल, टासी शेर्पा, निर्मला बराल र भरत भट्टराईलगायतको सहभागिता रहेको थियो।
नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति मुनिन्द्र नेम्बाङले सामाजिक सञ्जालमार्फत अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका प्रत्यक्ष सरोकारका विषयमा ज्ञापनपत्र बुझाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने पदाधिकारी, सदस्य तथा दुवै च्याप्टरका पदाधिकारीप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
नेसजअले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायसँग प्रत्यक्ष सरोकार राख्ने यी विषयलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिई आवश्यक कूटनीतिक पहल तथा नीतिगत प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएको छ।

