नेपाली खबरीलाल
ड्यालस, टेक्सस
नेपालको कला, संस्कृति, परम्परा र सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन तथा प्रचार–प्रसार गर्ने उद्देश्यले अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्ने नेपाली समुदायले आगामी सेप्टेम्बर २७ मा नेपाल सडक महोत्सव २०२६ आयोजना गर्ने भएका छन्।
‘हाम्रो संस्कृति, सम्पदा र समुदायको उत्सव’ भन्ने मूल नाराका साथ नेपाली समुदायको साझा संस्था बाल्टिमोर एसोसिएसन अफ नेपालीज इन अमेरिका (बाना) ले मेरिल्याण्डको टाउसनमा नेपाल सडक महोत्सव आयोजना गर्न लागेको हो।
बानाले विगत सात वर्षदेखि हरेक वर्ष नेपाल सडक महोत्सव आयोजना गर्दै आएको छ। यस वर्ष आयोजना हुन लागेको महोत्सव आठौँ नेपाल सडक महोत्सव हो।
“यस वर्षको सडक महोत्सवलाई बाल्टिमोरमा नेपाल झल्किने गरी विविध कार्यक्रमसहित भव्य रूपमा आयोजना गर्दैछौँ,” बानाका वरिष्ठ उपाध्यक्ष जनकबहादुर थापाले बताए।
वरिष्ठ उपाध्यक्ष थापाका अनुसार नेपाल सडक महोत्सव सेप्टेम्बर २७ तारिख बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। महोत्सवमा नेपाली संस्कृति, परम्परा, संगीत, नृत्य, कला तथा हस्तकलाका साथै विभिन्न नेपाली खानाका परिकारहरू प्रस्तुत गरिनेछन्।
नेपाल सडक महोत्सवको उद्देश्य नेपालको कला, संस्कृति, प्राकृतिक तथा पर्यटकीय सम्पदाको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्दै विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्नु रहेको आयोजकले जनाएको छ।
त्यसैगरी, हालै नेपालमा आएको भोटेकोशी नदीको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउन आह्वान गर्ने उद्देश्यसमेत महोत्सवमा समेटिएको आयोजकले जनाएको छ।
महोत्सवमा मेरिल्याण्ड राज्यका साथै आसपासका राज्यमा बसोबास गर्ने नेपाली तथा अमेरिकी समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको बानाले जनाएको छ।
आयोजकका अनुसार महोत्सवमा नेपाली कला, संस्कृति, परम्परा, संगीत, नृत्य, हस्तकला तथा खानाका परिकार मुख्य आकर्षणका रूपमा रहनेछन्। साथै, नेपाली संस्कृति र पहिचानलाई अमेरिकी तथा अन्य समुदायमाझ परिचित गराउने विभिन्न गतिविधिसमेत सञ्चालन गरिनेछन्।
बानाले महोत्सवमार्फत नेपाली समुदायबीचको एकता र सहकार्यलाई थप मजबुत बनाउँदै नेपाली कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
