नेपाली खबरीलाल
हल्टम सिटी, टेक्सास
यस वर्षको दसैँ–तिहारको अवसर पारेर पर्वत समाज अमेरिका, टेक्सास च्याप्टरले आगामी नोभेम्बर ७ मा ‘दसैँ–तिहार सांगीतिक साँझ’ आयोजना गर्ने भएको छ। आयोजकका अनुसार कार्यक्रम हल्टम सिटीस्थित इन्डियन किचेनमा नोभेम्बर ७ का दिन साँझ ६ बजेदेखि सुरु हुनेछ।
प्रवासमा नेपालीहरूको महान् चाड दसैँ–तिहारको झल्को मेटाउँदै नेपाली समुदायबीच भेटघाट, जमघट र आपसी सद्भाव अभिवृद्धि गर्ने तथा नेपाली कला, संस्कृति र संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष खेम चापागाईंले जानकारी दिनुभयो।
कार्यक्रममा नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदानसमेत गरिनेछ। यसले प्रवासमा रहेका नेपालीहरूलाई एकै ठाउँमा भेला भई चाडपर्वको खुसी साटासाट गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा लोकप्रिय नेपाली गायक कुलेन्द्र विश्वकर्माको विशेष सांगीतिक प्रस्तुति रहनेछ। त्यसैगरी, भीम चापागाईंलगायत स्थानीय कलाकारहरूले पनि विभिन्न सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ।
नेपाली मौलिक संस्कृति झल्काउने पञ्चेबाजा, लोकदोहोरी तथा देउसीभैलो कार्यक्रमका थप आकर्षण रहनेछन्। नेपाली गीतसंगीत र सांस्कृतिक प्रस्तुतिमार्फत चाडपर्वको उल्लासलाई प्रवासमा समेत जीवन्त बनाउने आयोजकको लक्ष्य छ।
आयोजकले टेक्सास तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भई नेपाली गीतसंगीतको आनन्द लिन, चाडपर्वको खुसी साटासाट गर्न तथा नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा साथ दिन आग्रह गरेको छ।

