नेपाली खबरीलाल
ड्यालस, टेक्सस
नेपालको पाल्पा जिल्ला घर भई अमेरिकाका विभिन्न स्थानमा बसोबास गर्दै आएका पाल्पालीहरूको संस्था पाल्पाली संगम अमेरिकाले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ।
भोटेकोशी बाढीपीडितको सहयोगार्थ पाल्पाली संगम अमेरिकाका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूबाट उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको पाल्पाली संगम टेक्ससका अध्यक्ष शिव काफ्लेले जानकारी दिनुभयो।
संकलित १५ लाख रुपैयाँको चेक पाल्पाली संगम अमेरिकाका पदाधिकारी तथा सदस्यहरूले नेपाली महावाणिज्य दूतावास, ड्यालसका महावाणिज्यदूत सुरेश अधिकारीलाई हस्तान्तरण गरेका थिए।
प्राकृतिक प्रकोपबाट प्रभावित नेपाली नागरिकहरूलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले संस्थाले आर्थिक सहयोग गरेको पाल्पाली संगम अमेरिकाले जनाएको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रवासी नेपाली समुदायले विभिन्न माध्यमबाट सहयोग जुटाउँदै आएका छन्।
