उपेन्द्र दाहाल
ड्यालस, टेक्सस
नेपालीहरू संसारको जुनसुकै कुनामा पुगे पनि मन भने नेपालमै रहन्छ। जहाँ रहे पनि आफ्नो भाषा, संस्कृति र नेपालीपनलाई नेपालीहरूले बिर्सन सक्दैनन्। एउटा नेपालीलाई परेको दुःखले संसारको जुनसुकै कुनामा रहेका नेपालीको मन दुख्छ भने एउटाको खुसीमा अर्को नेपाली पनि उत्तिकै रमाउँछ।
यस वर्ष नेपालमा आएको विनाशकारी बाढीपहिरोले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको मन रुवाएको छ। प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएपछि स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले खुला हृदयले राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दै आएका छन्।
यसै क्रममा अमेरिकाको टेक्ससस्थित ड्यालस–अर्भिङमा आयोजना गरिएको तीज फेस्ट ड्यालस २०२६ बाट नेपालका बाढीपहिरो प्रभावित परिवारका लागि २ हजार ५ सय अमेरिकी डलर सहयोग गरिएको छ।
नमस्ते इन्टरटेनमेन्टको आयोजनामा अर्भिङस्थित नमस्ते ग्रिल एन्ड स्पोर्ट्स बारमा सम्पन्न तीज फेस्टबाट टिकट बिक्री तथा डोनेसन बक्समार्फत संकलित रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार तीज फेस्टमा सहभागी भई टिकट खरिद गर्ने, डोनेसन बक्समार्फत सहयोग गर्ने तथा कार्यक्रमलाई विभिन्न माध्यमबाट समर्थन गर्ने सहभागी तथा शुभेच्छुकहरूको योगदानबाट उक्त रकम संकलन भएको हो।
‘उत्सवलाई सहयोगमा परिणत गरौँ’ भन्ने भावनासहित नेपाली समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व तीजलाई उत्सवका रूपमा मनाउँदै संकलित रकम नेपालमा बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि समर्पण गरिएको आयोजकले जनाएको छ।

