नेपाली खबरीलाल
ड्यालस, टेक्सस
लुम्बिनी सेवा समाज अमेरिकाले स्याङ्जा जिल्लामा स्थापित एक सहयोग कोषमा रकम हस्तान्तरण गरेको छ ।
स्याङ्जा जिल्लाको कालीगण्डकी प्राकृतिक अस्पतालमा उपचाररत गरीब तथा असहाय बिरामीहरूको सहयोगार्थ स्थापना गरिएको उक्त सहयोग कोषमा लुम्बिनी सेवा समाज अमेरिकाको तर्फबाट रु ६१ हजार ८ सय ४८ रुपैयाँ हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष युधिष्ठिर नेपालले जानकारी दिनुभयो ।
उक्त रकम समाजका संस्थापक अध्यक्ष तथा संरक्षक जगदीशप्रसाद न्यौपाने र महिला संयोजक सुशिला न्यौपानेले एक कार्यक्रमबीच संस्थाको तर्फबाट सहयोगस्वरूप हस्तान्तरण गर्नुभएको हो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सालिकराम बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सोमनाथ न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष तथा कालीगण्डकी प्राकृतिक अस्पतालका संरक्षक आचार्य चैतन्य कृष्ण, समाजसेवी बुद्धि सागर बस्याल, उपाध्यक्ष पदम अर्याल, व्यवस्थापन समितिका पदाधिकारी, अस्पतालका डा. रमा पोख्रेल, प्राविधिक तथा कर्मचारीहरू, साथै स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले लुम्बिनी सेवा समाज अमेरिकाद्वारा प्रदान गरिएको मानवीय सहयोगले अस्पतालमार्फत सेवा लिइरहेका विपन्न तथा असहाय बिरामीहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका थिए । उनीहरूले समाजसेवा, मानवता र परोपकारप्रतिको संस्थाको भावना प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि निरन्तर साथ, सहयोग, सद्भाव र समर्थन प्राप्त भइरहने अपेक्षा व्यक्त गरे ।
सोही अवसरमा सम्मानस्वरूप लुम्बिनी सेवा समाज अमेरिकालाई मातृ संस्था कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको आजीवन सदस्यता समेत प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले संस्थाको सामाजिक योगदानको प्रशंसा गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

