नेपाली खबरीलाल
ड्यालस, टेक्सस
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १९ औँ स्थापना दिवसको अवसरमा टेक्ससको ड्यालसमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २१ पिन्ट रगत संकलन गरिएको छ।
आफ्नो स्थापना दिवसको अवसरमा नेजाले ड्यालसको युलेसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो।
उक्त कार्यक्रमका लागि ब्लड डोनर्स एसोसिएसन अफ अमेरिका, टेक्सस च्याप्टर तथा युथ मेडिकल अलायन्स एसोसिएसनको सहयोग रहेको थियो भने कार्टर ब्लड केयरले प्राविधिक सहयोग उपलब्ध गराएको थियो।
उक्त रक्तदान कार्यक्रममा कुल २६ जना सहभागीमध्ये १० जना नयाँ रक्तदाता रहेको ब्लड डोनर्स अफ अमेरिका, टेक्सस च्याप्टरका अध्यक्ष सन्तोष कार्कीले बताए।
कार्यक्रमको शुभारम्भ नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारी तथा ब्लड डोनर्स अफ अमेरिका, टेक्सस च्याप्टरका अध्यक्ष सन्तोष कार्कीले सहभागी सबैलाई स्वागत गरेका थिए।
कार्यक्रममा पहिलो पटक रक्तदान गर्ने रक्तदाताहरूलाई अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत शरदराज आरन तथा ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत सुरेश अधिकारीले प्रमाणपत्र प्रदान गरेका थिए।
सो अवसरमा बोल्दै कार्यवाहक राजदूत आरनले प्रवासमा रहेर पनि नेपाली समुदायले समाजसेवाको क्षेत्रमा अग्रपंक्तिमा रहेर गरेको योगदानको खुलेर प्रशंसा गरे।
रक्तदान कार्यक्रमको शुभारम्भ समारोहमा अमेरिकास्थित नेपाली दूतावास तथा महावाणिज्य दूतावासका वरिष्ठ अधिकारीहरू, टेक्ससस्थित नेपाली समुदायका अगुवाहरू तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।



