नेपाली खबरीलाल
ड्यालस, टेक्सस
टेक्ससको युलेस शहरमा शनिबार नेपाली समुदायलाई लक्षित गर्दै आयोजना गरिएको निःशुल्क स्तन क्यान्सर परीक्षण शिबिरबाट १५ जना नेपाली महिलाहरू लाभान्वित भएका छन्। समुदायमा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने तथा प्रारम्भिक पहिचानमार्फत उपचार प्रक्रियालाई सहज बनाउने उद्देश्यले शिबिरको आयोजना गरिएको थियो।
उक्त शिबिर नेपाली समाज टेक्सस, ड्यालस हेल्थ लायन्स क्लब, मोबाइल मेडिकल केयर युनिट तथा कालिन्दी देवी फाउन्डेसनले संयुक्त रुपमा आयोजना गरेका थिए ।
युलेसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको भवनमा सञ्चालन गरिएको शिबिरमा सहभागी महिलाहरूको स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।
स्तन क्यान्सरको प्रारम्भिक पहिचानले उपचार सफलतामा महत्वपूर्ण भूमिका खेल्ने भन्दै नेपाली समुदायका महिलाहरूलाई लक्षित गरी यस्तो शिबिर आयोजना गरिएको नेपाली समाज टेक्ससकी महिला उपाध्यक्ष राधिका खरालले जानकारी दिनुभयो।
उपाध्यक्ष खरालका अनुसार समयमै परीक्षण गरिएमा स्तन क्यान्सर पूर्ण रूपमा उपचार सम्भव हुने भएकाले महिलाहरूलाई नियमित स्वास्थ्य परीक्षणप्रति सचेत गराउन शिबिर प्रभावकारी हुने अपेक्षा गरिएको छ।
शिबिरमा स्वास्थ्यकर्मीहरूको टोलीले परीक्षणसँगै स्तन क्यान्सरका लक्षण, जोखिम कारक, रोकथामका उपाय तथा नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारीमूलक परामर्शसमेत प्रदान गरेका थिए। सहभागी महिलाहरूले यस्तो उपयोगी तथा आवश्यक स्वास्थ्य सेवा नेपाली समुदायमै उपलब्ध गराइएकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन्।
समुदायलाई स्तन क्यान्सरबारे सचेत गराउने र निःशुल्क परीक्षणमार्फत स्वास्थ्य अवस्थाको पहिचान गर्ने उद्देश्यले आयोजक संस्थाहरूले हरेक वर्ष नियमित रूपमा यस्ता स्वास्थ्य शिबिरहरूको आयोजना गर्दै आइरहेका छन्।

