नेपाली खबरीलाल
ड्यालस, टेक्सस
नेपाली समाज टेक्ससको नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले आजदेखि औपचारिक रूपमा पदबहाली गरेका छन्। नेपाली समाज टेक्ससको निर्वाचन समितिको आयोजनामा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सभाकक्षमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि नयाँ पदाधिकारीहरूले कार्यभार सम्हालेका हुन्।
निर्वाचन समितिका अध्यक्ष महेश नेपालले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि मेरिल्याण्ड राज्यका डेलिगेट ह्यारी भण्डारी, विशिष्ट अतिथि नेपाली महावाणिज्य दूतावासका प्रमुख सुरेश अधिकारी तथा युलेश सिटी काउन्सिलका सदस्य टिका पौडेललगायतका वक्ताहरूले नव कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
यसैदिन बसेको कार्यसमितिको बैठकले निलेश श्रेष्ठलाई प्रवक्ता, निशान पोखरेललाई करियर डेभलपमेन्ट कोअर्डिनेटर तथा मन्जु चुंडाललाई स्कुल कोअर्डिनेटरमा नियुक्त गरेको छ। नियुक्त पदाधिकारीहरूलाई नेपाली समाज टेक्ससका अध्यक्ष विजय भुसालले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।
उक्त अवसरमा निवर्तमान कोषाध्यक्ष रामकृष्ण यादवले नव निर्वाचित अध्यक्ष प्रेम थापा र महासचिवलाई, साथै अध्यक्षको तर्फबाट निवर्तमान अध्यक्ष राजेन्द्र वाग्लेलाई संस्थाका आधिकारिक दस्तावेजहरू हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा अघिल्लो कार्यकाल सन् २०२३⁃२५ मा नेपाली समाज टेक्ससलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कदरपत्रसहित सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य–सचिव बिजयराज भट्टराईले गर्नुभएको थियो।
नेपाली समाज टेक्ससको सन् २०२५–२७ कार्यकालका लागि गत डिसेम्बर १३ मा नयाँ नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको थियो।

