नेपाली खबरीलाल
ड्यालस, टेक्सास
लुम्बिनी सेवा समाज अमेरिकाको नयाँ कार्यसमिति चयन गरिएको छ । नयाँ समितिको अध्यक्षमा युधिष्ठिर नेपाल निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा सरिता शर्मा रहनुभएको छ ।
त्यसैगरी महासचिवमा टंकनाथ अधिकारी, सचिवमा दिपक भण्डारी, कोषाध्यक्षमा रमेश ज्ञवाली, सह–कोषाध्यक्षमा विनोद भट्टराई, महिला संयोजकमा सुसीला न्यौपाने, सांस्कृतिक संयोजकमा ईश्वर भुसाल र युवा संयोजकमा घनश्याम पोखरेल निर्वाचित हुनुभएको छ । सदस्यहरूमा मधुसुदन नेपाल, गीता ज्ञवाली, किरण पौडेल र रबि प्रसाद चापागाई चयन भएको समाजले जनाएको छ ।
टेक्सासको युलेशस्थित मन्त्र रेष्टुरेन्टको सभाकक्षमा आइतबार आयोजित पद हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष जगदिसप्रसाद न्यौपानेले नव–निर्वाचित अध्यक्ष युधिष्टर नेपाललाई पदको प्रतीकस्वरूप माला र झोला अर्पण गर्दै पद हस्तान्तरण गर्नुभयो । सो अवसरमा नयाँ कार्यसमितिलाई शपथ गराउनुका साथै निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्रका अध्यक्ष डा. प्रेम अधिकारीले लुम्बिनी सेवा समाज अमेरिका प्रवासी नेपालीबीच उत्कृष्ट सामाजिक संस्था भएको उल्लेख गर्दै यसको गतिविधि अन्य संस्थाका लागि पनि प्रेरणादायी भएको धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार समाजले संस्थागत विकाससँगै लुम्बिनी प्रदेशको कला–संस्कृतिको संरक्षण र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
त्यसैगरी नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, वरिष्ठ उपाध्यक्ष जनक भण्डारी, उपाध्यक्ष बलराम पौडेल, सुदूरपश्चिम नेपाली समाजका अध्यक्ष गगन केसी, समाजसेवी बटुक बिष्ट, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारी, पत्रकार शंकर थापा, नेपालका अधिवक्ता डीपी अधिकारीलगायतका वक्ताहरूले लुम्बिनी सेवा समाज अमेरिकाले मौलिक नेपाली संस्कृतिको प्रवर्द्धन गर्दै समुदायलाई एकताबद्ध गर्न योगदान दिइरहेको उल्लेख गरे ।
नव–निर्वाचित अध्यक्ष युधिष्ठिर नेपालले लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन, नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्न र सामाजिक कार्यलाई निरन्तरता दिन आफू प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
निवर्तमान अध्यक्ष जगदिसप्रसाद न्यौपानेले प्रवासमा समाजसेवा चुनौतीपूर्ण भए पनि समुदायको साथ, समर्थन र सहयोग भएमा सीमित स्रोत–साधनमै उत्कृष्ट काम गर्न सकिने अनुभव व्यक्त गर्नुभयो ।
सो अवसरमा लुम्बिनी सेवा समाज अमेरिकालाई सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।


