नेपाली खबरीलाल
ड्यालस, टेक्सस
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिका (ल्च्ल्ब् ल्ऋऋ ग्क्ब्) को अध्यक्षमा सतेन्द्र शाह निर्वाचित भएका छन्। लामो समयदेखि जारी विवाद र अन्यौलबीच सोमबार सम्पन्न निर्वाचनमा शाहले ३ हजार २ सय २८ मत प्राप्त गर्दै विजयी भएका हुन्।
आगामी कार्यकाल (२०२५–२०२७) का लागि भएको निर्वाचनमा शाहका निकटतम प्रतिस्पर्धी भानु खरेलले २ हजार ५ सय ६ मत, रामहरि अधिकारीले २ हजार ६३ मत र रामजी (राज) अधिकारीले १०५ मत प्राप्त गरेका छन्। शाहका प्रतिस्पर्धीमध्ये भानु खरेल निवर्तमान समितिका उपाध्यक्ष हुन् भने अर्का प्रतिस्पर्धी रामहरि अधिकारी निवर्तमान महासचिव हुन्।
निर्वाचन आयोगद्वारा सोमबार सार्वजनिक गरिएको अन्तिम परिणाम अनुसार, वरिष्ठ उपाध्यक्षमा सन्तोष पहरी निर्वाचित भएका छन्। राष्ट्रिय उपाध्यक्षमा प्रदीप चौलागाई, डा. गंगाधर आचार्य, आङ छिरिङ शेर्पा र सुरेन्द्र लौडरी निर्वाचित भएका छन् भने महासचिवमा मोहन न्यौपाने विजयी भएका छन्।
त्यसैगरी, राष्ट्रिय महिला उपाध्यक्षमा सुनिता खत्री, युवा उपाध्यक्षमा विजय वाइबा, खुला सचिवमा सूर्य बस्ताकोटा र कोषाध्यक्षमा रविन्द्र उप्रेति निर्वाचित भएका छन्। यसअघि महिला सचिवमा लक्ष्मी थापा र सह–कोषाध्यक्षमा मोहन कुसारी निर्विरोध निर्वाचित भइसकेका थिए।
युवा संयोजकमा संसार चौलागाई र महिला संयोजकमा करिना कुँवर चयन भएका छन्। त्यस्तै, राष्ट्रिय बोर्ड सदस्य (Board of Directors) मा सन्तोष लम्साल, माधव गौतम, बाबुराम काफ्ले, ध्रुव गौतम, राजु साह, इन्द्र कान्त चौधरी, ओम विश्वकर्मा र हेम ठकुल्ला निर्वाचित भएका छन्।
यसअघि, एनआरएनए अमेरिकाको अर्को समूहले गत जुलाईमा चुनाव सम्पन्न गरी विकास उप्रेतीको नेतृत्वमा राष्ट्रिय समन्वय परिषद तथा विभिन्न च्याप्टरहरूको नेतृत्व घोषणा गरिसकेको थियो।
राष्ट्रिय समन्वय परिषदसँगै सम्पन्न विभिन्न राज्य च्याप्टर समितिहरूको निर्वाचनको अन्तिम परिणाम पनि आयोगले सार्वजनिक गरेको छ।










