नेपाली खबरीलाल
ड्यालस, टेक्सस
विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने दुई नेपाली महिलाहरूलाई आइतबार टेक्ससको ड्यालसमा एक विशेष समारोहका बीच सम्मान गरिएको छ।
पाँच पटक सगरमाथा आरोहण गरिसकेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र दुई पटक सगरमाथा आरोहण गरेकी उषा बिष्टलाई नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सभाकक्षमा आयोजित कार्यक्रममा ड्यालसमा बसोबास गर्ने नेपाली समुदायले सम्मान गरेका हुन्।
उक्त अवसरमा सगरमाथा आरोही श्रेष्ठ र बिष्टले हिमाल आरोहणका क्रममा भोगेका अनुभवहरू साझा गरे। उनीहरूले सुनाएका वास्तविक कथा र चुनौतीपूर्ण क्षणहरूले कार्यक्रममा उपस्थित धेरैलाई भावुक बनाएको थियो।
पूर्णिमा श्रेष्ठले विश्वका आठ हजार मिटरभन्दा अग्ला आठ वटा हिमालहरू समेत आरोहण गरिसकेकी छन्। उनले १३ दिनको अवधिमा तीनपटक सगरमाथाको चुचुरोमा पुगेको रोचक अनुभव प्रस्तुत गरिन्।
त्यस्तै, आरोही उषा बिष्टले पनि आफूले दुईपटक सगरमाथा आरोहण गर्नुका साथै नेपाल, अमेरिका, रुस र अष्ट्रेलियाका विभिन्न हिमालहरू सफलतापूर्वक आरोहण गरेको जानकारी दिइन्।
उनीहरूले सुनाएको सबैभन्दा भावुक क्षणमध्ये एक थियो—उषा बिष्टले २०१८ मा आफ्नी दिदीको साहस देखेर सगरमाथा आरोहणको प्रयास गरेका भाइ ध्रुव बिष्टको दुःखद निधनको अनुभव। उनले आठ हजार मिटरको उचाइमा अक्सिजनको कमीले ज्यान गुमाएका भाइको सम्झनामा आँखा रसाएर सुनाइन्।
सगरमाथा आरोही तथा चर्चित फोटो पत्रकार पूर्णिमा श्रेष्ठ हाल अमेरिका भ्रमणको क्रममा यहाँ आइपुगेकी हुन् भने उषा बिष्ट भने टेक्ससको फोर्टवर्थमा स्थायी रूपमा बस्दै आएकी छिन्।
उक्त सम्मान कार्यक्रम नेपाली समाज टेक्सस, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, टेक्सस नेपलिज मेडिकल एसोसिएसन लगायतका संघ–संस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रममा ड्यालस क्षेत्रका नेपालीहरूको उल्लेख्य उपस्थिति थियो।
उक्त अवसरमा सहभागीहरूले श्रेष्ठ र बिष्टले देखाएको अद्वितीय साहस, संकल्प र राष्ट्रिय गौरवको खुलेर प्रशंसा गरेका थिए।

