नेपाली खबरीलाल
भर्जिनिया, अमेरिका
मधेशी एसोसिएसन इन अमेरिका (माँ) मा नयाँ नेतृत्व चयन गरिएको छ। अमेरिकाको भर्जिनियामा सोमबार सम्पन्न चौथो महाधिवेशनले मनोज सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
महाधिवेशनबाट निर्वाचित अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा नवीनकुमार साह चयन भएका छन्। अन्य उपाध्यक्षहरूमा क्रमशः प्रकाशभाई मधेशिया, सुभाषकुमार बैठा, गर्भीलाल यादव, जयनारायण साह, दिनेश साह, मुकेश रोयल, श्रीमती शशी साह, र धर्मेन्द्र झा रहेका छन्।
त्यसैगरी, महाधिवेशनले महासचिवमा डा. शिव ठाकुर, कोषाध्यक्षमा मोहम्मद रफिद, प्रवक्तामा प्रमोद गुप्ता तथा अन्य सदस्यहरूमा क्रमशः अभदेश गुप्ता, रंजन साह, र मोहम्मद जफिरुद्दिनलाई चयन गरेको संस्थाले जनाएको छ।
“मधेशी के शान, अपन संस्कृति अपन पहिचान, माँ के अभियान मधेशी के समग्र उत्थान” भन्ने नाराका साथ सम्पन्न चौथो महाधिवेशनको उद्घाटन राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले आइतबार भर्जिनियाको म्यानाससमा गर्नुभएको थियो।
महाधिवेशनको उद्घाटन कार्यक्रम माँका अध्यक्ष डा. संगीत रौनियारको अध्यक्षता तथा महासचिव शशी साह र अमित साहको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली दूतावासका डिपुटी चिफ अफ मिसन शरदराज अरन, आर्थिक सल्लाहकार युगराज पाण्डे, भर्जिनियाका स्टेट सिनेटर कननीश्री निवासन, गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसिसीका उपाध्यक्ष सुनिल साह, एनआरएनए अमेरिका अध्यक्ष डा. अर्जुन बन्जाडे, एएनए अध्यक्ष खगेन्द्र अधिकारी, नेपालकी समाजसेवी पुनमदेवी यादव, वरिष्ठ कलाकार एस.सी. सुमन तथा कन्भेनर रिना पण्डित लगायत वक्ताहरूले सम्बोधन गर्नुभएको थियो।
महाधिवेशनमा सांस्कृतिक परेड, विविध सांस्कृतिक कार्यक्रम प्रदर्शन तथा अमेरिकामा निर्माण गर्न लागिएको ‘मधेश पार्क’ को कार्ययोजना समेत उद्घाटन गरिएको थियो।


