नेपाली खबरीलाल
बाल्टिमोर, मेरिल्याण्ड
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिका सभापति तथा प्रतिनिधि सभा सदस्य बीरबहादुर बलायरले मातृभूमिप्रति आशावादी बन्न अमेरिकामा रहेका नेपालीहरूलाई आग्रह गर्नुभएको छ।
सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डद्वारा बिहीबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नेता बलायरले केही व्यक्तिका कारण जनतामा निराशा देखिए पनि लोकतान्त्रिक व्यवस्था देश र जनताको पक्षमा रहेकोले आशावादी बन्नुपर्नेमा जोड दिनुभयो।
नेपालको सुदूरपश्चिम क्षेत्रमा आशाको सञ्चार हुने गरी विकासका कामहरू भईरहेको बताउँदै नेता बलायरले अब सुदूरपश्चिममा विगतझैं निराश हुनुपर्ने अवस्था नरहेको दाबी गर्नुभयो। आफू सुदूरपश्चिम प्रदेश स्तरीय राजनीतिक संयन्त्रको अध्यक्ष रहेको उल्लेख गर्दै उहाँले नेपाली काँग्रेस नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुदूरपश्चिमेलीको आवश्यकताअनुसार विकास योजना सञ्चालन गर्न निर्देशन दिएको जानकारी समेत दिनुभयो।
सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष बिक्रम शाहीको अध्यक्षता र महासचिव यज्ञबहादुर रानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा बोल्दै नेता बलायरले सुदूरपश्चिमेलीहरू भौतिक रूपमा जहाँ भए पनि एकताबद्ध भएर भाषा, कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा क्रियाशील रहनु उल्लेखनीय भएको भन्दै प्रशंसा गर्नुभयो।
बाना अमेरिकाको सभाकक्षमा आयोजना गरिएको उक्त कार्यक्रममा सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका संस्थापक अध्यक्ष दमनबिक्रम शाह, बानाका नवनिर्बाचित बरिष्ठ उपाध्यक्ष जनक थापा, सुदूरश्चिम नेपाली समाज मेरिल्याण्डका सल्लाहकार भिम बिक, नेपाली जनसम्पर्क समिति मेरिल्याण्डका अध्यक्ष राजेन्द्र सेन्चुरी, बानाका अध्यक्ष सुबोध पन्तले प्रवासी नेपालीका बिभिन्न सवालमा बोल्नु भएको थियो ।


