नेपाली खबरीलाल
ड्यालस टेक्सस
नेपाल सरकारका भौतिक योजना तथा यातायात मन्त्री देबेन्द्र दाहालले नेपाल सरकार गैरआवासीय नेपालीका नागरिकता लगायतका समस्याहरु सामाधान गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ ।
नेपाली समाज टेक्ससद्वारा मंगलबार ड्यालसमा आयोजना गरिएको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै नेपाल सरकार गैरआवासीय नेपालीका समस्याका बारेमा जानकार रहेको र निर्माण गर्न बाँकी रहेका कानून चाँडै बनाएर गैरआवासीय नेपालीका सवालहरु सामाधान गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नेपालमा बिकास र समृद्धिको बाधक राजनैतिक अस्थिरता भएको चर्चा गर्दै नेपालमा राजनैतिक स्थिरता कायम गर्दै गैरआवासीय नेपालीहरुलाई विकास र समृद्धिका साझेदार बनाउनु पर्ने धारणा व्यक्त गर्नु भयो ।
अमेरिका भ्रमणमा रहेका मन्त्री दाहालले अहिले नेपालका प्रमुख राजनैतिक शक्ति बिचको सत्ता सहकार्यले सरकार ढाल्ने खेल बन्द भई बिकास निर्माणका कामहरु सुचारु रुपमा सन्चालन भईरहेको बताउनु भयो । हामी निर्माणको चरणमा छौं । योजनाबद्ध रुपमा काम भईरहेका छन् । बिकास निर्माणका ठूला योजनामा प्रगति देखिएका छन । नेपालमा केही पनि भएको छैन भनेर फैलाईएको निराशापूर्ण हल्लाको पछि नलाग्न मन्त्री दाहालले आग्रह गर्नु भयो ।
मन्त्री दाहालले नेपालमा पछिल्लो राजावादीहरुको सकृयतालाई नाटकको संज्ञा दिनु भयो । नेपालमा बेलाबेलामा नाटक हुने गर्दछन । राजतन्त्र नेपाली जनताले भोगीसकेकाले राजतन्त्र फेरी फर्किने सम्भावना नरहेका दावी गर्नु भयो ।
नेपालीहरुले सोधेका बिभिन्न प्रश्नको जवाफमा मन्त्री दाहालले टेक्ससको ड्यालसमा स्थापना हुन लागेको नेपाल सरकारको कन्सुलेट अफिस सन्चालनका लागि अमेरिकी सरकारबाट स्वीकृति आउन बाँकी भएका कारण ढिला भएकोले नेपाल फर्केपछि चाँडो सन्चालनका लागि पहल गरिने जानकारी दिनु भयो ।
नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष भानु खरेल, जनसम्पर्क समिति ड्यालसका सभापति ज्ञानेन्द्रराज कार्की, पानस अमेरिकाका अध्यक्ष रबि रावल, प्रवास सम्पर्क बिभाग टेक्ससका अध्यक्ष डा रविन पाठक, जनप्रगतिशिल मन्च अमेरिकाका ईन्चार्ज नारायण कँडेल, युलेश सिटीका उपमेयर टीका पौडेल, प्रवासी नेपाली मन्च अमेरिकाका संस्थापक जनक रानाले गैरआवासीय नेपालीका बिभिन्न सवालका बारेमा मन्त्री दाहाल मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए । नेपाली समाज टेक्ससका महासचिब विजय भुसालको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले टेक्ससमा नेपाली समुदायको अवस्था, गैरआवासीय नेपाली नागरिकता, ड्यालसमा कन्सुलर अफिस स्थापना लगायतका विषयमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मधुसुधन पौडेल पनि सहभागि हुनु भएको थियो ।
यसअघि मन्त्री दाहालले प्रवासी नेपाली मन्च टेक्ससका पदाधिकारी सदस्यहरुसंग अर्भिङ स्थित भेट्घाट रेष्टुरेन्टमा अन्तरकृया गर्नु भएको थियो । नेकपा(एमाले) का पोलिटब्युरो सदस्य समेत रहेका मन्त्री दाहाललाई प्रवासी नेपाली मन्च टेक्ससका अध्यक्ष राजु नेपाल लगायतका नेताहरुले स्वागत गरेका थिए ।
उक्त अवसरमा मन्त्री दाहालले नेपालमा बलियो राजनैतिक शक्तिको आबश्यकता रहेकाले मिसन ८४ मा नेकपा(एमाले) नेपालले पार्टीलाई प्रमुख राजनैतिक शक्तिका रुपमा स्थापित गर्ने गरि ध्यान केन्द्रित गरेको बताउनु भयो । नेकपा (एमाले) प्रतिको आकर्षण देखेर चौतर्फी आक्रमण भईरहेको बताउँदै पार्टीका स्वदेश तथा बिदेशमा रहेका नेता तथा कार्यकर्ताले पार्टी बिरोधी गतिबिधिको प्रतिकार गर्न आग्रह गर्नु भयो ।

