नेपाली खबरीलाल
ड्यालस, टेक्सस
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले बिदेशबाट नेपाली भाषामा सन्चालित मिडियाहरु पनि पत्रकार आचारसंहिताको पालना गर्नु पर्ने कुरामा जोड दिनु भएको छ ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा)द्वारा आईतबार ड्यालसमा आयोजित “पत्रकार आचारसंहिता विश्वव्यापी अभ्यास र नेपाली मिडियामा प्रयोग” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले बिदेशबाट सन्चालित नेपाली मिडियामा प्रकाशित सामग्रीहरुले स्वदेश र बिदेशमा रहेका नेपाली समुदायमा प्रभाव पार्ने भएकाले पत्रकार आचारसंहिता पालना गर्नुपर्ने बताउनु भयो । अमेरिका भ्रमणका क्रममा अमेरिकाको टेक्सस पुग्नु भएका अध्यक्ष बस्नेतले ड्यालसमा स्थानीय पत्रकार तथा समुदायसंगको अन्तरक्रिया गर्दै बिदेशमा सन्चालित नेपाली मिडियाहरुले डायस्पोरालाई मातृभूमिसंग जोड्न उत्पादनमूलक समाचार प्रकाशन प्रसारण गर्नु पर्ने कुरामा जोड दिए ।
पछिल्लो समय सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेको चर्चा गर्दै सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रेस काउन्सिलले राज्यका निकायसंग समन्वय गरि पहल गरिरहेको अध्यक्ष बस्नेतले जानकारी दिनु भयो । बिदेशमा सन्चालित नेपाली मिडियाको लक्षित बर्ग पनि नेपाली समुदाय भएकाले मिडियाले आचारसंहिताको पालना गरेर नेपाल र नेपाली समुदायको हितमा सहयोग गर्नु पर्दछ, अध्यक्ष बस्नेतले भन्नु भयो ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) का महासचिब बावुराम दाहालको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा नेजाका अध्यक्ष सुरज भण्डारीले पछिल्लो समय अमेरिकी नेपाली समुदायमा नेपाली मिडियाले आफ्नो उपस्थिती बढाउदै लगेकाले पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन आबश्यक भईसकेको बताउनु भयो ।
आचारसंहिता आफैलाई अनुशासनमा बाँध्ने सूत्र भएको बताउँदै अध्यक्ष भण्डारीले नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले सदस्य पत्रकारहरुका लागि आचारसंहिता निर्माण गरि जिम्मेवार बनाउन प्रयास गरेको उल्लेख गर्नु भयो ।
कार्यक्रममा सन्चार बिज्ञ विनय गुरागाईले आचार संहिताको विश्वव्यापी प्रचलन र नेपाली मिडियामा प्रयोगका बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा सहभागिहरुको तर्फबाट दिनेश शर्मा, रामचन्द्र भट्ट, तारा रावल, सन्जय घिमिरे, ज्ञानेन्द्रराज कार्की, कमल घर्ती, टीका पौडेल लगायतले नेपाली पत्रकारिताको बर्तमान अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । उक्त कार्यक्रममा टेक्ससको ड्यालस स्थित नेपाली पत्रकारहरु, नेपाली समुदायमा अगुवाहरु गरि ८० जनाको सहभागिता रहेको थियो ।


