नेपाली खबरीलाल
ड्यालस, टेक्सास
अमेरिकी मधेशीहरुको सँस्था मधेशी एशोसियसन ईन अमेरिका (माँ) ले यस बर्षपनि होली बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । अमेरिकाका बिभिन्न राज्यमा रहेका च्याप्टरहरुले आफ्नो अनुकुल हुने गरि मार्च महिनाको १४, १५ र १६ तारेखमा होली मनाउने भएका हुन ।
यस बर्षको होली पर्बको अवसरमा टेक्सस, क्यालिफोर्निया, फ्लोरिडा, पेन्सलभेनिया, बासिटन डिसी, न्यूयोर्क, एटलान्टा, ओहायो लगायतका स्थानमा रहेका राज्य स्तरीय च्याप्टरहरुले मधेशी समुदायको साँस्कृतिक पर्ब होली बिशेष कार्यक्रम आयोजना गर्न लागेको मधेशी एशोसियसन ईन अमेरिका (माँ) का केन्द्रिय अध्यक्ष डा.संगीत रौनियारले बताउनु भयो ।
होली बिशेष कार्यक्रममा एक आपसमा रंग लगायर होलीको शुभकामना आदान प्रदान गरिने छ । होली पर्बमा मधेशीहरु एकै स्थानमा जम्मा भएर होली गीत संगीतमा झुम्नेछन् । अमेरिकाका बिभिन्न स्थानमा छरिएर रहेका मधेशीहरुलाई एकै स्थानमा भेला गराउने, भेटघाट, सुखदुःख साटासाट गर्दै एकता र सामाजिक सद्भाव कायम गराउनमा सहयोग गर्ने होली बिशेष कार्यक्रमको उद्देश्य रहेको अध्यक्ष रौनियारले बताए ।
आधुनिकताका नाममा होली पर्बको मौलिकपन लोप हुँदै गईरहेको छ । हामी प्रवासमा पनि होली पर्बको मौलिकपन जोगाउदै साँस्कृतिक पर्बलाई पुस्तान्तरण गर्न आबश्यक भईसकेको प्रवासी मधेशी अगुवाहरु बताउँछन ।
आपसमा रङ तथा अबिर दलेर मनाइने होलीलाई आपसी मेलमिलाप र सद्भावसँगै रङहरुको पर्वको रुपमा समेत लिईने गरिन्छ । ‘ होलीको धार्मिक महत्व सँगसँगै सामाजिक सदभाव र उमंग प्रदान गर्न विशेष भूमिका रहेको छ ।’



