नेपाली खबरिलाल
ड्यालस, टेक्सस
अमेरिकाको टेक्ससमा रहेका नेपाली समुदायले नेपाली अन्तराष्ट्रिय बिद्यार्थीहरुका लागि “खाद्यान्न सहयोग अभियान” शुरु गरेका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई निष्काशन गर्ने योजनालाई कडाईका साथ कार्यान्वयनमा ल्याएको र त्यसको प्रत्यक्ष असर नेपाली अन्तराष्ट्रिय विद्यार्थीमा पनि परेको भन्दै नेपाली समुदायले खाद्यान्न सहयोग अभियान थालेका हुन् ।
टेक्सासको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली सामाजिक अभियन्ताहरुले “बिद्यार्थीका लागि समुदाय कार्यक्रम” नामक उक्त अभियान अन्तरगत करिब ३ हजार नेपाली अन्तराष्ट्रिय बिद्यार्थीका लागि खाद्यान्न सहयोग गर्ने लक्ष राखिएको छ ।
कामविहीन नेपाली अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई कम्तीमा १ महिनाका लागि आबश्यक पर्ने खाद्यान्नहरुमा प्रति बिद्यार्थीलाई १० एलबि बास्मती चामल, २ एलबी दाल, १ लिटर तेल, १ बक्स नून, ४ एलबी चना लगायतका खाद्यान्न सामग्री उपलब्ध गराउन लागिएको नेपाली समाज टेक्सासका महासचिब विजय भुसालले जानकारी दिनु भयो ।
महासचिब भुसालका अनुसार हालसम्म ७ सय बढी नेपाली अन्तराष्ट्रिय बिद्यार्थीहरुले खाद्यान्न बुझेर लगिसकेका छन् । सवारी साधन भएका बिद्यार्थीहरुले नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र युलेशबाट खाद्य सामग्री प्राप्त गर्न सक्ने र सवारी साधन नभएका बिद्यार्थीहरुलाई उनिहरुको ठेगानामा पुर्याउने व्यवस्था मिलाईएको छ ।
गैरकानुनी आप्रवासीको खोजी गर्ने क्रममा प्रहरीले दैनिक हजारौं व्यवसायिक फर्महरूमा छापा मारिरहेको छ । यसैक्रममा कानुनी रूपमै बसोबास गरिरहेका र कामदार अनुमति पत्र (वर्क पर्मिट) भएका बाहेकले व्यवसायिक फर्महरूमा काम गरिरहेको भेटिएमा प्रहरीले चेतावनी दिने, पक्राउ गर्ने र केहीलाई निष्काशन गर्दै आइरहेको छ । यसैको प्रभावमा नेपाली विद्यार्थी परेका हुन् । उनीहरूलाई काम गरिरहेको भेटेमा प्रहरीले पक्राउ गर्न सक्छ ।
अमेरिकामा अध्ययनका क्रममा खाना बस्न तथा पढाई शुल्क तिर्न नेपाली अन्तराष्ट्रिय बिद्यार्थीहरु कलेज बाहिर काम गर्नु पर्ने बाध्यता रहेको छ । तर गैरकानूनी आप्रवासी खोजी गर्ने क्रममा पक्राउ पर्ने डरले नेपाली अन्तराष्ट्रिय बिद्यार्थीहरुले धमाधम काम गुमाउदै गएका छन ।
गैरआवासीय नेपाली संघ अमेरिकाको तथ्यांकअनुसार हाल अमेरिकाका बिभिन्न बिश्व विद्यालयहरुमा करिब ५० हजार नेपाली विद्यार्थी अध्ययनरत छन् ।
नेपाली बिद्यार्थीहरुका लागि टेक्ससमा “खाद्यान्न सहयोग अभियान”
2 Mins Read
