नेपाली खबरिलाल
ड्यालस, टेक्सास
टेक्सासको ड्यालसमा रहेका प्रवासी पत्रकारहरु तथा सामाजिक क्षेत्रका अगुवाहरुले शनिबार पत्रकारितामा (कृतिम बौद्धिकता) एआई र सामाजिक सन्जालका अवसर र चुनौतीका बारेमा चर्चा गरेका छन ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) द्वारा शनिबार ड्यालसको युलेशमा आयोजना गरिएको “प्रवासको पत्रकारितामा आर्टिफेसिएल इन्टेलिजेन्स र सामाजिक सञ्जालको भूमिका” विषयक अन्तरकृया कार्यक्रममा सहभागिहरुले आम सन्चार र सामाजिक सन्जाल प्रतिको बुझाईमा स्पष्टता ल्याउँदै एआई र सामाजिक सन्जाललाई सही ढंगबाट प्रयोग गरि सदुपयोग गर्नु पन बिचार व्यक्त गरे ।
डायस्पोरा (प्रवासी) पत्रकारितामा एआईको झनै ठूलो महत्व रहेको बताउँदै तथ्य संकलन, तथ्यको पुष्टि, भाषामा सरलिकरण तथा डिजाइन लगायतका काममा एआईलाई प्रयोग गर्न सकिने सम्भावना रहेको सहभागिहरुको भनाई थियो ।
उक्त कार्यक्रममा बोल्दै आम सन्चार तथा एआईका जानकार तथा क्यानडाको ओटावा युनिभर्सिटीमा पत्रकारिता बिषयमा प्राध्यापक डा. भानुभक्त आचार्यले एआईका बिभिन्न बिशेषताका बारेमा जानकारी गराउँदै आर्टिफेसिएल इन्टेलिजेन्स (एआई) को सही प्रयोगबाट आफ्नो पेशा व्यवसायलाई सहज बनाउन सकिने बिचार व्यक्त गर्नु भयो । प्रवासी पत्रकारितामा एआईको प्रयोगमा अवसर र चुनौती दुबै रहेको धारणा व्यक्त गर्नु भयो ।
पत्रकारितामा सूचना प्रविधिको प्रयोगसंगै अनलाईन पत्रकारिता प्रति आकर्षण बढीरहेको सन्दर्भमा एआई प्रविधि मार्फत यसलाई अझ सरल र सहज बनाउन सकिने सञ्चारविज्ञ डा. आचार्यको धारणा थियो ।
प्रवासमा पत्रकारिताको काममा एआईको प्रयोगले सहजता हुने भएपनि एआईको मात्र भर पर्दा बिगतमा केही मिडियाले माफी माग्नु पर्ने अवस्था आएको आचार्यले उदारहण प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा अर्का सहजकर्ता नेपाल समाचारपत्र दैनिकका पूर्ब सम्पादक तथा पत्रकारिता विषयका प्राध्यापक कपिल काफ्लेले प्रवासमा रहेका दोश्रो पुस्तालाई नेपालसँग जोड्नका लागि नेपाली भाषाका अनलाईन पत्रिकामा प्रकाशित सामग्रीहरु उपयोगी हुने बिचार व्यक्त गर्नु भयो ।
नेजा अध्यक्ष सुरज भण्डारीको सभापतित्व र महासचिव बाबुराम दाहालको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा आर्टिफेसिएल इन्टेलिजेन्स (एआई) का विषयमा विद्यावारिधी गर्दै रहेका विजयराज भट्टराईले एआईले डायस्पोरा जर्नलिजमलाई पार्ने प्रभाव र डायस्पोरा जर्नलिजमलाई समुदायले हेर्ने दृष्टिकोणको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघका पूर्ब अध्यक्ष विकासराज न्यौपाने, भोला आचार्य, युलेश सिटीका उप मेयर टीका पौडेल, नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली जनसम्पर्क समिति अमेरिका पूर्ब अध्यक्ष विष्णु सुवेदी, लगायतले प्रवासी पत्रकारिता, सम्भावना र चुनौतिका विषयमा धारणा राखेका थिए ।




