नेपाली खबरिलाल
ड्यालस टेक्सास
टेक्सासमा रहेका नेपालीहरुको नेतृत्वदायी सँस्था नेपाली समाज टेक्सासको बार्षिक साधारण सभा २२ डिसेम्बरमा आयोजना हुने भएको छ । नेपाली समाज टेक्सासको आईतबारका लागि तोकिएको वार्षिक साधारण सभामा बिधानले तोके बमोजिम गणपुरक सँख्या नपुगेपछि साधारण सभाको भेलाबाट २२ डिसेम्बरमा सम्पन्न गर्ने गरि मिति तोकिएको हो ।
नेपाली समाज टेक्सासको वार्षिक साधारण सभा आज ८ डिसेम्बर आईतबारका लागि तोकिएको थियो । आजको साधारण सभामा गणपुरक सँख्या नपुगेकाले साधारण सभाको लागि अर्को मिति तोकिएको सँस्थाका महासचिब बिजय भुसालले बताउनु भयो । नेपाली समाज टेक्सासको बिधानमा पहिलो पटक बोलाईएको साधारण सभामा आबश्यक गणपुरक सँख्या नपुगेमा दोश्रो पटकको साधारण सभामा उपस्थित सँख्यालाई गणपुरक सँख्या मान्ने व्यवस्था छ ।
दोश्रो पटकको लागि बोलाईएको साधारण सभा आगामी २२ डिसेम्बर, आईतबारको दिन नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रको सामुदायिक भवन युलेशमा सम्पन्न हुने नेपाली समाज टेक्सासले जनाएको छ । उक्त साधारण सभामा सँस्थाको बार्षिक कार्य प्रगति प्रतिबेदन, आर्थिक प्रगति प्रतिबेदन तथा सँस्थाको भौतिक सम्पति खरिद लगायतका बिषयमा छलफल गरिने महासचिब भुसालले जानकारी दिनु भयो ।
उक्त साधारण सभाबाट महत्वपूर्ण निर्णय गरिने भएकाले समय व्यवस्थापन गरेर उपस्थित भईदिनका लागि नेपाली समाज टेक्सासले सँस्थाका आजीवन तथा साधारण सदस्यहरु, ट्रष्टि सदस्यहरुलाई अनुरोध समेत गरेको छ ।

