नेपाली खबरिलाल
ड्यालस, टेक्सास
टोल छिमेकका हरेक घरमा गएर देउसी भैलो खेल्ने नेपालीहरुको परम्परागत शैली हो । तर प्रवासी नेपाली मन्च टेक्सास राज्य कमिटीले शनिबार फरक शैलीको देउसी भैलो कार्यक्रमको आयोजना गर्यो । टेक्सासको ड्यालस क्षेत्रमा पर्ने कोपेल, अर्लिङटन, फोर्टवर्थ गरि ३ स्थानमा मन्चका सदस्यहरु जम्मा भएर सामुहिक देउसी भैलो खेले । रमाईलो गरे । सुख दुःख साटासाट गरे । शुभ कामना आदान प्रदान गरेका थिए ।
प्रवासी नेपाली मन्च टेक्सास राज्य कमिटीले पहिलो पटक देउसी भैलो कार्यक्रमको आयोजना गरेको हो । यहाँको परिबेश अनुसार समय व्यवस्थापन गर्दा हरेक सदस्यको घरमा गएर देउसी खेल्ने सम्भव पनि देखिएन । त्यसैले हामीले मन्चका सदस्यहरुलाई पायक पर्ने गरि मन्चका नेताहरु फोर्टवर्थको हसलेटमा जीवन जोशी, अर्लिङटनमा तारा भुसाल, कोपेलमा बिजय भट्टराईको घरलाई केन्द्र बनाएर सामुहिक देउसी भैलो खेलेको राज्य कमिटीका अध्यक्ष राजु नेपालले बताए ।
अध्यक्ष राजु नेपालका अनुसार कार्यक्रममा मन्चका सदस्यहरु सपरिवार सहभागि भएर देउसी भैलो खेल्नुका साथै सामुहिक भोजन समेत गरेका थिए । प्रवासी नेपाली मन्च अमेरिकी कानून अन्तरगत दर्ता भएको सामाजिक सँस्था भएकाले प्रवासमा नेपाली भाषा, कला सँस्कृतिको सँरक्षण तथा पुस्तान्तरण गर्न पनि देउसी भैलो कार्यक्रमको आयोजना गरिएको राज्य कमिटीले जनाएको छ ।
फोर्टवर्थको हसलेट स्थित मन्चका नेता जीवन जोशीको घरमा आयोजना गरिएको सामुहिक देउसी भैलो कार्यक्रममा सहभागिहरुले टेक्सास राज्य कमिटी शुरु गरेको सामुहिक देउसी भैलो मनाउने तरिकाको प्रशँसा गरेका थिए । एकै स्थानमा जम्मा भएर देउसी भैलो खेल्दा समयका बचत, धेरै जनासँग एकै स्थानमा चिनजान परिचय हुने, रमाईलो गर्न पाईएको सहभागिको धारणा रहेको थियो । उक्त अवसरमा सहभागिले भैली टोली आफ्नो घरमा आएको सम्झेर आर्थिक सहयोग गरेका थिए ।
उक्त अवसरमा प्रवासी नेपाली मन्चका नेता जीवन जोशीले देउसी भैलो टोलीलाई स्वागत गर्दै आफ्नो घरमा सामुहिक देउसी भैलो कार्यक्रमको आयोजना तथा व्यवस्थापन गर्ने अवसर दिएकोमा धन्यवाद दिनु भएको थियो ।
टेक्सास राज्य कमिटीका सचिब मनिष थापाको सन्चालनमा सम्पन्न देउसी भैलो कार्यक्रममा मन्चका नेताहरु जीवन जोशी, जनक राना, गोकर्ण दाहाल, भुवन अधिकारी तथा जन प्रगतिशिल मन्च टेक्ससका अध्यक्ष राजु सुबेदी लगायतका बक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो । उक्त अबसरमा बिभिन्न गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

