नेपाली खबरीलाल
ड्यालस टेक्सस
प्रवासमा सञ्चालित नेपाली भाषा पाठशालाको गुणस्तर सुधार तथा भाषा शिक्षणलाई व्यवस्थित बनाउन एकीकृत पाठ्यक्रम निर्माण गरिने भएको छ। विभिन्न मुलुकमा नेपाली समुदायद्वारा सञ्चालन भइरहेका नेपाली भाषा पाठशालाका लागि साझा पाठ्यक्रम विकास गर्ने उद्देश्यले नेपाली समाज टेक्सस (एनएसटी) को पहलमा उक्त अभियान सुरु गर्न लागिएको हो।
प्रवासमा जन्मिएका तथा हुर्किएका नेपालीमूलका बालबालिकालाई नेपाली भाषा, संस्कृति र पहिचानसँग जोडिराख्न नेपाली भाषा पाठशालाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
तर, विभिन्न देशमा सञ्चालन भइरहेका पाठशालामा एउटै मापदण्डको व्यवस्थित र एकीकृत पाठ्यक्रमको आवश्यकता महसुस गरिएको नेपाली समाज टेक्ससका अध्यक्ष विजय भुसालले बताउनुभयो।
अध्यक्ष भुसालका अनुसार पहिलो चरणमा आगामी अगस्ट १ र २ मा टेक्ससको युलेसमा पहिलो अन्तर्राष्ट्रिय नेपाली भाषा पाठ्यक्रम विकास गोष्ठी आयोजना गर्न लागिएको छ। गोष्ठीमा अमेरिका, क्यानडा, युरोप, अष्ट्रेलियालगायत विभिन्न देशमा सञ्चालन भइरहेका नेपाली भाषा विद्यालयका प्रतिनिधि, भाषा शिक्षक, शिक्षाविद् तथा नेपाली समुदायका अगुवाको सहभागिता रहनेछ।
गोष्ठीबाट विभिन्न देशमा सञ्चालन भइरहेका नेपाली भाषा विद्यालयमा प्रयोग गर्न मिल्ने साझा, एकीकृत तथा व्यवस्थित नेपाली भाषा पाठ्यक्रम विकास गर्ने लक्ष्य राखिएको नेपाली समाज टेक्ससले जनाएको छ।
गोष्ठीमा नेपाली भाषा शिक्षणका अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान, पाठ्यक्रम निर्माण, शिक्षण विधि, सिकाइ सामग्री विकास तथा आगामी कार्ययोजनाका विषयमा छलफल हुनेछ। यसबाट विदेशस्थित नेपाली भाषा विद्यालयबीच सहकार्य, समन्वय र अनुभव आदानप्रदान थप सुदृढ हुने अपेक्षा गरिएको नेपाली समाज टेक्ससले जनाएको छ।
प्रवासमा सञ्चालित नेपाली भाषा पाठशालामध्ये नेपाली समाज टेक्ससद्वारा सञ्चालित ग्लोबल नेपाली पाठशाला व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको पाठशालाका रूपमा चिनिन्छ। नेपाली समाज टेक्ससको स्थापना भएसँगै ब्यवस्थित रुपमा सन् २००४ देखि सुरु भएको उक्त पाठशालाले सन् २०१३ देखि आफ्नै पाठ्यक्रम, पाठ्यपुस्तक तथा अभ्यास पुस्तिका तयार गरी प्रयोगमा ल्याउँदै आएको छ।
पाठशालाले हरेक वर्ष वसन्त, ग्रीष्म र शरद् सत्रमा विशेष शिविर सञ्चालन गर्नुका साथै नियमित अनलाइन कक्षा पनि सञ्चालन गर्दै आएको छ। नेपाली भाषा शिक्षाप्रति आकर्षण बढ्दै जाँदा विद्यार्थीको चाप उल्लेखनीय रूपमा बढेको पाठशालाका संरक्षक डा. भोजबहादुर बलायरले बताउनुभयो।
उहाँका अनुसार विगत केही वर्षयता विभिन्न देशबाट पनि ग्लोबल नेपाली पाठशालाको अनुभव र पाठ्यक्रमबारे चासो बढ्दै गएको छ। यही अनुभवलाई आधार बनाएर अन्तर्राष्ट्रिय स्तरको साझा नेपाली भाषा पाठ्यक्रम विकास गर्ने प्रयास सुरु गरिएको हो।
