नेपाली खबरीलाल
अस्टिन, टेक्सास
टेक्ससको राजधानी अस्टिनमा सक्रिय नेपाली समुदायको साझा संस्था ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) मा आइतबार सम्पन्न निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको छ।
निर्वाचन परिणामअनुसार संस्थाको अध्यक्ष पदमा समाजसेवी पदम ठकुराठी ४ सय ७५ मतसहित निर्वाचित हुनुभएको छ। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा अशोककुमार शाही ४ सय २१ मत, महिला उपाध्यक्षमा सपना राउत ४ सय २७ मत, उपाध्यक्षमा धिरेन्द्रकुमार यादव ४ सय १७ मत, महासचिवमा सूर्य कार्की ४ सय ४५ मत, सचिवमा प्रिन्स भट्ट ४ सय १५ मत तथा कोषाध्यक्षमा नारायणप्रसाद रिजाल ४ सय ३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।
कार्यसमिति सदस्यहरूमा दीपक हुमागाईं ४ सय २२ मत, एलिजा थापा पौडेल ४ सय १४ मत, विनाम आचार्य ४ सय १३ मत तथा प्रदीपकुमार भडेल ४ सय मत प्राप्त गरी विजयी हुनुभएको छ।
करिब १ हजार ४ सय मतदाता रहेको संस्थाको निर्वाचनमा करिब ९ सय सदस्यले मतदान गरेका थिए। संस्थाको विधानअनुसार कार्यसमितिले थप ६ जना सदस्य मनोनयन गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ।
यसैगरी आइतबार ग्यान्सअन्तर्गत रहेको पशुपतिनाथ मन्दिर बोर्ड अफ ट्रस्टीको पनि निर्वाचन सम्पन्न गरिएको थियो।
आठ सदस्यीय बोर्ड अफ ट्रस्टीको प्रमुखमा देवराज न्यौपाने तथा उपप्रमुखमा निरोज मानन्धर निर्विरोध चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूका लागि भएको निर्वाचनमा टिकामाया गुरुङ, सूर्य नारायण शाह, सुरज अधिकारी, वर्षा गौतम, हर्षबहादुर नकर्मी तथा रोशन गोसाईं चयन हुनुभएको छ।
सन् २०१३ मा स्थापना भएको ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) मा अस्टिन आसपासका १९ वटा काउन्टीमा बसोबास गर्ने नेपालीहरू आबद्ध रहेका छन्। संस्थाले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्दै आएको छ।
