नेपाली खबरीलाल
ड्यालस, टेक्सस
अमेरिकाको टेक्सस राज्यस्थित नेपाली महावाणिज्यदूतावास, ड्यालसले सेवा सञ्चालन सुरु गरेको करिब सात महिनाको अबधिमा पाँच लाख अमेरिकी डलरभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ ।
वि.सं. २०८२ असोज २४ गतेदेखि औपचारिक रूपमा सेवा प्रारम्भ गरेको महावाणिज्यदूतावासले हालसम्म विभिन्न कन्सुलर सेवामार्फत कुल ५ लाख ३० हजार ५ सय ३ अमेरिकी डलर राजस्व सङ्कलन गरेको हो ।
उपमहावाणिज्यदूत धना जोशीका अनुसार महावाणिज्यदूतावासले राहदानी सेवा, एकतर्फी यात्रा अनुमतिपत्र, अधिकृत वारेसनामा प्रमाणीकरण, मृतकको शव नेपाल पठाउन सहजीकरण, नेपाली नागरिकता परित्याग, एनआरएन आईडी कार्ड तथा नेपाली भिसा जारी गर्ने लगायतका विविध कागजात प्रमाणीकरण सेवाहरू प्रदान गर्दै आएको छ ।
गत सात महिनाको अवधिमा ३ हजार ८१ वटा राहदानी आवेदन प्रशोधन गरिएको छ भने २ हजार ६ सय ४८ वटा नयाँ राहदानी वितरण गरिएको छ। यस अवधिमा ८२ वटा एकतर्फी यात्रा अनुमतिपत्र, १ सय ३८ वटा अधिकृत वारेसनामा प्रमाणीकरण गरिएको उपमहावाणिज्यदूत जोशीले जानकारी दिनु भयो ।
त्यसैगरी, दुई जनाको शव नेपाल पठाउन सहजीकरण गरिएको, २४ वटा नेपाली नागरिकता परित्याग तथा एनआरएन आईडी कार्ड जारी गरिएको, ४३ वटा नेपाली भिसा वितरण गरिएको तथा विभिन्न कागजात प्रमाणीकरणका ३६ वटा सेवा प्रदान गरिएको र दुईवटा राहदानी तथा कन्सुलर शिविर सञ्चालन गरिएको महावाणिज्यदूतावासको तथ्याङ्कमा उल्लेख गरिएको छ।
कार्यालयले टेक्सससहित ओक्लाहोमा, अर्कान्सास, लुइजियाना, न्यू मेक्सिको, कोलोराडो, कान्सास र मिसिसिपी गरी आठ राज्यमा रहेका नेपाली समुदाय तथा स्थानीय एवं विदेशी नागरिकलाई सेवा दिँदै आएको जनाएको छ। सहज र पायक पर्ने भएकाले अन्य राज्यमा बसोबास गर्ने नेपालीहरूले समेत ड्यालसबाट सेवा लिने गरेका छन्।
कन्सुलर सेवासँगै नेपाल प्रवद्र्धन, आर्थिक कूटनीति, पर्यटन, निर्यात व्यापार, प्रविधि प्रवद्र्धन तथा नेपाली नागरिकको संरक्षण र सहजीकरणसम्बन्धी कार्यक्रमलाई पनि निरन्तरता दिइएको जनाइएको छ।
कार्यालयले औपचारिक कार्यालय समयबाहेक आवश्यकताअनुसार सप्ताहान्त तथा सार्वजनिक बिदाका दिनमा समेत सेवा प्रदान गर्दै आएकाले प्रवासी नेपालीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
बिगतका दिनमा ड्यालस तथा आसपासका राज्यमा बसोबास गर्ने नेपालीहरूले दूतावासबाट प्रदान गरिने सेवा लिनका लागि वासिङ्टन डी.सी.स्थित नेपाली राजदूतावास पुग्नुपर्ने बाध्यता थियो । बिगतमा एउटा सेवा लिनका लागि वासिङ्टन डी.सी. जाँदा हवाई यातायात, खाना तथा बसोबासमा कम्तीमा पनि २ हजार डलर खर्च हुने गरेको नेपाली समाज टेक्ससका अध्यक्ष विजय भुसालले बताउनुभयो।
अध्यक्ष भुसालका अनुसार अहिले घरछेउमै नेपाली महावाणिज्यदूतावास स्थापना भई नेपाल सरकारका सेवाहरू उपलब्ध हुन थालेपछि पैसाका साथै समय पनि बचत भएको छ । नेपाली समुदायका विभिन्न समस्याहरूमा समेत नेपाली समाज टेक्सस लगायतका समुदायका सामाजिक संस्थाहरूसँग मिलेर महावाणिज्यदूतावासले सहयोग गरिरहेको छ । अब नेपाल सरकारले कुनैपनि बहानामा नेपाली महावाणिज्यदूतावासका सेवा प्रभावित हुने निर्णय गर्न नहुने यहाँका नेपालीहरु बताउँछन् ।
ड्यालसस्थित नेपाली महावाणिज्यदूतावासका सेवालाई थप प्रभावकारी बनाउन क्रमशः सेवा र सेवाग्राहीको दायरा विस्तार गर्दै लैजानुपर्ने नेपाली समुदायका अगुवाहरूको धारणा रहेको छ ।
