नेपाली खबरीलाल
ड्यालस, टेक्सस
टेक्ससको प्रमुख शहर ड्यालस अन्तर्गत युलेसस्थित श्री पशुपतिनाथ मन्दिर तथा बुद्ध विहारमा आयोजना गरिएको “संगीतमय रामायण महोत्सव” मा नेपाली भक्तजनहरूको उल्लेखनीय सहभागिता देखिएको छ।
गत अप्रिल २५ देखि सुरु भएको महोत्सवमा हरेक दिन दिउँसो ४ बजेदेखि बेलुका ८ बजेसम्म रामकथा वाचन, विभिन्न साङ्गीतिक प्रस्तुति तथा आरती कार्यक्रम सञ्चालन भइरहेको आयोजक समितिका संयोजक जनक भण्डारीले जानकारी दिनुभयो। महोत्सव आगामी मे ३, आइतबार एक भव्य समारोहबीच समापन गरिने आयोजकले जनाएको छ।
संयोजक भण्डारीका अनुसार नेपाली समुदायबीच धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
महोत्सवले डल्लास–फोर्थ वर्थ क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई एकै थलोमा भेला गराई धार्मिक तथा सांस्कृतिक एकताको सन्देश दिने विश्वास आयोजकको रहेको छ। दैनिक कामको व्यस्तताका बाबजुद पनि यहाँका नेपालीहरू उत्साहका साथ कार्यक्रममा सहभागी भइरहेका छन् भने दिनप्रतिदिन सहभागीहरूको संख्या बढ्दै गएको छ।
कार्यक्रममा प्रख्यात धर्मगुरु श्री ईश्वरकृष्ण महाराजजीले नेपाली रामचरितमानसमा आधारित रामकथा वाचन गरिरहनुभएको छ। साथै, पण्डित श्री धर्मदास बुढाथोकीजीको साङ्गीतिक भजन प्रस्तुति कार्यक्रमको प्रमुख आकर्षण बनेको छ।
आयोजकले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई आध्यात्मिक लाभ लिन हार्दिक निमन्त्रणा दिएको छ।


