नेपाली खबरिलाल
ड्यालस टेक्सस
टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना गरेको दुईदिने कन्सुलर घुम्ती शिविरबाट २ सय ७२ जना नेपालीहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
टेक्ससको ड्यालस स्थित नेपाली महाबाणिज्य दूताबासद्वारा ग्रेटर अस्टिन नेपाली समाज अस्टिनको भवनमा यही अप्रिल २५ र २६ तारिखमा आयोजना गरिएको राहदानी तथा कन्सुलर घुम्ती शिविरमा नयाँ राहदानी तथा नवीकरण २ सय ६७, पावर अफ अटर्नी १, एकतर्फी यात्रा कागजात ३ र एनआरएन कार्ड १ गरी कुल २ सय ७२ जनालाई सेवा प्रदान गरिएको उपमहावाणिज्यदूत धना जोशीले जानकारी दिनुभयो ।
अमेरिकाका विभिन्न ८ राज्यमा रहेका नेपालीहरूलाई कन्सुलर सेवा पु¥याउने उद्देश्यले नेपाल सरकारले गत वर्ष टेक्ससको ड्यालसमा महावाणिज्य दूतावास स्थापना गरेको थियो । उपमहावाणिज्यदूत धना जोशीका अनुसार ड्यालसमा दूतावास स्थापना भएपछिको यो पहिलो घुम्ती शिविर हो ।
भौगोलिक रूपमा टाढा रहेका नेपालीहरूलाई पायक पर्ने स्थानमै सेवा प्रदान गर्ने महावाणिज्य दूतावासको नीति रहेको छ । भौगौलिक रुपमा ठूलो टेक्सस राज्यको अस्टिन क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले लामो समयदेखि राहादानी तथा कन्सुलर शिविरको माग गर्दै आएका थिए ।
शिविरको स्थानीय व्यवस्थापनमा ग्रेटर अस्टिन नेपाली समाज अस्टिनले सहयोग गरेको थियो । शिविरमा महावाणिज्यदूत सुरेश अधिकारी, उपमहावाणिज्यदूत धना जोशी, उपबाणिज्यदूत हरिमाया अधिकारीलगायतका कर्मचारीहरूले सेवा प्रदान गरेका थिए ।
अस्टिनमा सम्पन्न राहदानी तथा कन्सुलर घुम्ती शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने ग्रेटर अस्टिन नेपाली समाजसहित सम्पूर्ण स्थानीय नेपाली समुदायप्रति महावाणिज्य दूतावासले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै धन्यवाद व्यक्त गरेको छ ।

