नेपाली खबरीलाल
ड्यालस÷टेक्सस
यही मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रमका साथ मनाइँदै छ। महिलाहरूको अधिकार, समानता, उपलब्धि र सशक्तीकरणलाई सम्मान तथा प्रवद्र्धन गर्ने यो एक विश्वव्यापी दिवस हो । यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नारा “समानता र सहयोगले सबैको प्रगति” रहेको छ।
टेक्ससको ड्यालसमा रहेका नेपाली महिलाहरूले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस विशेष रूपमा मनाउने तयारी गरेका छन् । नेपाल समाज टेक्ससको महिला टास्क फोर्सद्वारा महिला सशक्तीकरण र नेतृत्व विकासका विषयमा विशेष छलफल कार्यक्रम आयोजना गर्न लागिएको महिला उपाध्यक्ष राधिका खरालले बताइन्।
उनका अनुसार कार्यक्रममा महिला सशक्तीकरण, नेतृत्व विकास तथा कानुनी साक्षरताका विषयमा गहन छलफल गरिनेछ । कार्यक्रममा महिला उद्यमी ज्योति लोहानी, सपना ढकाल, सबिता पाठक तथा परिवार विज्ञ डा. शिलु न्यौपानेले आ–आफ्नो अनुभव र धारणा प्रस्तुत गर्नेछन् । कार्यक्रमको सहजीकरण महिला संयोजक सोनिशा थापाले गर्नेछिन् ।
नेपाली समुदायका महिलाहरूलाई आत्मनिर्भर, सचेत र नेतृत्वदायी भूमिकामा अगाडि बढ्न प्रेरणा प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको एनएसटीले जनाएको छ । साथै, महिला अधिकार, सामाजिक सहभागिता तथा कानुनी जानकारीसम्बन्धी विषयमा विचार आदानप्रदान गरिनेछ ।
अन्तर्राष्ट्रिय महिला दिवसले समाजमा समान अवसर र समान अधिकारको आवश्यकतालाई स्मरण गराउँछ। यसले महिलाहरूको संघर्ष, उपलब्धि र भविष्यका सम्भावनालाई उजागर गर्ने अवसर प्रदान गर्दछ। संक्षेपमा, यो दिवस महिलाको सम्मान मात्र नभई समानता र न्यायका लागि निरन्तर प्रतिबद्धताको प्रतीक हो।
