नेपाली खबरीलाल
ड्यालस, टेक्सस
नेपालीहरूको प्रमुख सांस्कृतिक चाडमध्ये एक होली पर्व यस वर्ष सोमबार र मंगलबार परेको छ। नेपालमा परम्पराअनुसार सोमबार पहाड र मंगलबार तराई क्षेत्रमा होली मनाइँदैछ। अमेरिकामा रहेका नेपाली समुदायले भने होली पर्वलाई आफ्नो अनुकूल समयमा उत्सवका रूपमा मनाउँदै आएका छन्।
यस वर्ष टेक्ससको ड्यालस–फोर्टवर्थ क्षेत्रमा विभिन्न नेपाली समुदाय तथा संघ–संस्थाहरूले स्थानीय सार्वजनिक पार्कहरूमा होली पर्व आयोजना गरिरहेका छन्। आज ड्यालस–फोर्टवर्थका विभिन्न समुदाय तथा स्थानीय पार्कहरूमा धुमधामका साथ होली पर्व मनाइएको छ।
यसैगरी, आइतबार ड्यालस–फोर्टवर्थ क्षेत्रमा सक्रिय नेपाली समुदायका विभिन्न संस्थाहरूले ग्रेपभाइन लेकमा मेघा होली उत्सव कार्यक्रम आयोजना गर्ने भएका छन्।
नेपाली समाज टेक्सस, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र तथा इन्द्रेणी सांस्कृतिक संघको अगुवाइ तथा अन्य दर्जनभन्दा बढी संस्थाहरूको सहभागितामा उक्त मेघा होली कार्यक्रम आयोजना हुन लागेको हो।
होली पर्व नेपाली समुदायको प्रमुख रंगीन सांस्कृतिक चाड हो। नेपाली समुदायका प्रत्येक संस्थाले छुट्टाछुट्टै रूपमा होली मनाउनु भन्दा एकै स्थानमा सामूहिक रूपमा मनाउँदा पर्वको महत्व अझ बढ्ने विश्वासका साथ सामूहिक मेघा होली कार्यक्रम आयोजना गरिएको नेपाली समाज टेक्ससका अध्यक्ष विजय भुसालले बताउनुभयो।
यहाँका नेपाली समुदायले प्रमुख सांस्कृतिक चाडपर्वहरू पुस्तान्तरण गर्नका लागि सामूहिक रूपमा मनाउँदै आएको बताएका छन्। अमेरिकामा जन्मेका तथा हुर्केका बालबालिकालाई नेपाली चाडपर्वबारे जानकारी गराउँदै भाषा र संस्कृतिको माध्यमबाट मातृभूमिसँग जोड्ने कार्यमा यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा समुदायका अगुवाहरूले व्यक्त गरेका छन्।

