नेपाली खबरीलाल
ड्यालस, टेक्सस
नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले ड्यालसमा पशुपतिनाथ मन्दिर तथा बुद्ध विहार निर्माण कार्यको शुभारम्भ गर्न आवश्यक तयारी थालेको छ। सोही अवसरमा आगामी फेब्रुअरी १५ (शनिबार) मन्दिर तथा विहार निर्माणस्थलमै भूमिशोधन पूजा आयोजना गरिने केन्द्रले जनाएको छ।
केन्द्रले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको ब्यानरअनुसार भूमिशोधन पूजा शनिबार बिहान ११ः०० बजे सुरु हुनेछ। पूजाको अवसरमा विशेष हवन, भजन–कीर्तन तथा विविध धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू समेत सञ्चालन गरिने जनाइएको छ।
धार्मिक मान्यताअनुसार कुनै पनि शुभ निर्माण कार्य अघि भूमिशोधन पूजा गर्नु अत्यन्त शुभ मानिन्छ। भूमिमा कुनै दोष वा नकारात्मक प्रभाव भए त्यसको निराकरण हुने विश्वासका साथ पशुपतिनाथ मन्दिर तथा बुद्ध विहारजस्ता पवित्र र महत्वपूर्ण धार्मिक संरचनाको निर्माण प्रारम्भ गर्दा भूमिशोधन पूजा गर्न लागिएको केन्द्रले जनाएको छ।
नेपाली समुदायको बृहत्तर तथा दीर्घकालीन परियोजनाका रूपमा रहेको पशुपतिनाथ मन्दिर तथा बुद्ध विहार निर्माणका लागि यहाँस्थित नेपाली समुदायले लामो समयदेखि स्रोत सङ्कलन गर्दै आएका छन्। भूमिशोधन पूजापश्चात औपचारिक रूपमा निर्माण कार्य सुरु गरिनेछ भने पहिलो चरणमा बुद्ध विहारको निर्माण कार्य अघि बढाइने तयारी गरिएको बताइएको छ।
केन्द्रले उक्त पूजामा सहभागी भई धार्मिक कार्यलाई सफल बनाउन सम्पूर्ण हिन्दु तथा बौद्ध धर्मावलम्बी, श्रद्धालु भक्तजन, दाता, शुभेच्छुक तथा नेपाली समुदायका सदस्यहरूलाई हार्दिक निमन्त्रणा गरेको छ।

