नेपाली खबरीलाल
ड्यालस, टेक्सस
अमेरिकाको टेक्सस राज्यमा बसोवास गर्ने तामाङ समुदायले आफ्नो महान् मौलिक सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछार २०८६ विविध कार्यक्रमसहित भव्य रूपमा मनाउने तयारी थालेका छन्। मञ्जुश्री संवत् २८६२ (ता–ल्हो । घोडा वर्ष) को अवसरमा आयोजना हुने कार्यक्रमहरू तामाङ समुदायको संस्कृति, परम्परा र पहिचानलाई प्रवासमा जगेर्ना गर्ने उद्देश्यका साथ गरिन लागेको तामाङ समाज टेक्ससले जनाएको छ।
यस वर्ष टेक्ससका विभिन्न स्थानमा बसोवास गर्ने तामाङ समुदाय एकै ठाउँमा भेला भई सोनाम ल्होछार मनाउने तयारीमा जुटेका छन्। पर्वको अवसरमा जनवरी ३१, २०२६ (शनिबार) इर्भिङस्थित डायमण्ड हल, ब्यान्क्वेट हल इभेन्ट सेन्टरमा भव्य सांस्कृतिक साँझ कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा तामाङ समुदायका परम्परागत गीत, नृत्य तथा नेपाली सांगीतिक प्रस्तुति प्रस्तुत गर्दै ल्होछारको शुभकामना आदान–प्रदान गरिने तामाङ समाज टेक्ससका अध्यक्ष कुमार तामाङले जानकारी दिनुभयो।
आयोजकका अनुसार कार्यक्रममा तामाङ समुदायको मौलिक पहिचान झल्किने विविध सांस्कृतिक प्रस्तुति रहनेछन्। साथै चर्चित कलाकारहरू निर्मला घिसिङ, विजय लामा र रश्मी तामाङको विशेष प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण रहनेछ।
नेपालमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार प्रवासमा भने कामको व्यस्ततालाई ध्यानमा राख्दै सबैलाई पायक पर्ने बिदाको दिन आयोजना गरिँदै आएको छ। प्रवासमा जन्मिँदै हुर्किँदै गरेका दोस्रो पुस्तालाई भाषा, संस्कार र तामाङ संस्कृतिसँग जोडिराख्ने उद्देश्यले तामाङ समाज टेक्ससले सामूहिक रूपमा यस्ता चाडपर्वहरू मनाउँदै आएको जनाएको छ।
ड्यालसको इर्भिङमा आयोजना हुने कार्यक्रममा सहभागी भई तामाङ भेषभूषा, संस्कृति र परम्पराको अवलोकन गर्न तामाङ समाज टेक्ससले सम्पूर्ण नेपाली समुदायलाई हार्दिक आग्रह गरेको छ।
के हो सोनाम ल्होछार ?
‘ल्होछार’ शब्द ‘ल्हो’ (वर्ष/सम्वत्) र ‘छार’ (नयाँ) मिलेर बनेको हो, जसको अर्थ नयाँ वर्ष भन्ने हुन्छ। तामाङ समुदायले यस पर्वलाई नयाँ वर्षका रूपमा विशेष धार्मिक, सांस्कृतिक र सामाजिक महत्वका साथ मनाउने गर्दछन्। तामाङ शब्द ‘ता’ (घोडा) र ‘माङ’ (योद्धा) बाट बनेको मानिन्छ, जसले तामाङ समुदायको साहस र वीरताको प्रतीकात्मक अर्थ दिन्छ।
ल्होछार मनाउने समुदायमा १२ वर्षे पशुचक्र प्रणाली प्रचलित छ, जसमा मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर वर्ष पर्दछन्। प्रत्येक वर्षलाई यी पशुपन्छीका नामबाट चिनिन्छ।
सोनाम ल्होछारका अवसरमा घर–आँगन सफा गर्ने, बुद्धका चित्र अंकित ध्वजापताका टाँग्ने, बुद्ध तथा कुलदेवताको पूजा गर्ने परम्परा छ। कतिपय स्थानमा लामा र मुखियाको उपस्थितिमा सामूहिक रूपमा नाचगान र सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ। यस अवसरमा गाइने परम्परागत गीतलाई तामाङ सेलो भनिन्छ, जसमा दैनिक जीवन, प्रकृति र प्रेमका भाव झल्किन्छन्। डम्फु तामाङ समुदायको मौलिक बाजा हो, जसले सेलोलाई अझ आकर्षक बनाउँछ।
सोनाम ल्होछारका अवसरमा परिवारजन र आफन्त भेला भई विभिन्न परिकार र मिठाईसहित भोज खाने, आपसी भेटघाट गर्ने तथा शुभकामना आदान–प्रदान गर्ने चलन रहेको छ। सरल, मिलनसार र सामूहिक संस्कारका लागि परिचित तामाङ समुदायको यो पर्व सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा लिइन्छ।
यसरी सोनाम ल्होछार केवल तामाङ समुदायको नयाँ वर्ष मात्र नभई नेपालको सांस्कृतिक विविधताको एक महत्वपूर्ण पहिचान बनेको छ, जसलाई प्रवासमा समेत उत्तिकै श्रद्धा र उत्साहका साथ मनाइँदै आएको छ।

