नेपाली खबरीलाल
ड्यालस, टेक्सस
नेपाली समाज टेक्सस (NST) का वर्तमान उपाध्यक्ष बलराम पौडेलले नेपाली समाजमा एकताको सन्देश दिने उद्देश्यले आफूले नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता नगरेको स्पष्ट पारेका छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै समाजमा एकता, सहकार्य र स्थिरताको आवश्यकतालाई मध्यनजर राखी चुनावी प्रतिस्पर्धामा सहभागि नभएको जानकारी दिएका हुन् ।
यसअघि पौडेलले आगामी २०२५–२०२७ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै प्रचार–प्रसार अभियान पनि सुरु गरेका थिए । तर समाजको हितलाई सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गर्दै उनले हालको चुनावी वातावरणमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, समूहगत मनोवृत्ति र कृत्रिम ध्रुवीकरणले समुदायमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै उम्मेदवारी फिर्ता लिएको विज्ञप्तिमार्फत स्पष्ट पारेका छन ।
“पदभन्दा पनि समुदायको स्थिरता, प्रतिष्ठा र दीर्घकालीन प्रगतिलाई पहिलो प्राथमिकतामा राखेको छु,” पौडेलले विज्ञप्तिमा भनेका छन् । उनले विभाजनकारी प्रवृत्तिलाई निरुत्साहित गर्दै सबै सदस्य, शुभेच्छुक र मतदातामा शान्त, सभ्य र जिम्मेवार राजनीतिक संस्कृतिको विकास गर्न आग्रह गरेका छन् ।
सन् २०११ देखि ड्यालस–फोर्टवर्थ क्षेत्रमा व्यवसाय, सामाजिक सेवा र संस्थागत विकासमा सक्रिय पौडेल विगतमा दुई कार्यकाल नेपाली समाज टेक्ससको कार्यकारी सदस्य तथा २०२३ मा उपाध्यक्षका रूपमा कार्य गरिसकेका छन् । लामो सामुदायिक यात्रामा प्राप्त समर्थन, माया र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै उनले ‘एकता, सहकार्य र पारस्परिक सम्मान’ लाई समाजको प्रमुख मूल्यका रूपमा व्याख्या गरेका छन् ।
धेरै शुभेच्छुक, समर्थक तथा मतदाताले उम्मेदवारी कायम राख्न गरेको निरन्तर आग्रहलाई कदर गर्दै पनि वरिष्ठ अग्रज, पूर्व पदाधिकारी तथा एकतामुखी व्यक्तिहरूको सुझावलाई सम्मान गर्दै आफू चुनावी प्रतिस्पर्धाबाट बाहिरिएको पौडेलले बताएका छन् । उनले आफ्नो निर्णयले केही शुभेच्छुक निराश हुन सक्ने उल्लेख गर्दै सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
विज्ञप्तिको अन्त्यमा पौडेलले आगामी डिसेम्बरमा हुने NST चुनाव शान्तिपूर्ण, निष्पक्ष, पारदर्शी र समावेशी ढंगले सम्पन्न गर्न सम्पूर्ण सदस्य र समुदायजनमा अपिल गरेका छन ्। साथै, आफू पदमा रहेर होस् वा बाहिर, समान समर्पण, उत्साह र जिम्मेवारीका साथ समाजको हितका लागि निरन्तर काम गरिरहने दृढता दोहोर्याएका छन् ।
नेपाली समाजमा एकताको सन्देश दिन उम्मेदवारी नदिने निर्णय गरेको हुँ — बलराम पौडेल
2 Mins Read
