नेपाली खबरीलाल
ड्यालस, टेक्सस
टेक्ससमा रहेका नेपालीहरूको पुरानो संस्था नेपाली समाज टेक्ससको नयाँ नेतृत्वका लागि आगामी डिसेम्बर १३ मा निर्वाचन हुँदैछ । निर्वाचनमा नोभेम्बर १५ भित्र सदस्यता प्राप्त गरेका सदस्यहरूले मात्र मतदानमा सहभागी हुन पाउने छन् । सदस्यता लिने अन्तिम मिति नजिकिँदै जाँदा सदस्यता संख्या बढाउन आकांक्षीहरू सक्रिय रूपमा लागिरहेका छन् । हालसम्म नयाँ नेतृत्वका लागि चार जनाले आफ्नो उम्मेदवारी इच्छा प्रकट गरेका छन् ।
आकांक्षीहरूले सामाजिक सञ्जाल फेसबुकमा समूह बनाएर प्रचार–प्रसार अभियानलाई तीव्र बनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका नामहरुमा अध्यक्ष पदका लागि हालसम्मका आकांक्षीहरूमा वरिष्ठ उपाध्यक्ष जनक भण्डारी, उपाध्यक्ष बलराम पौडेल, महासचिव विजय भुसाल, र पूर्व उपाध्यक्ष तथा प्रवक्ता किरण पौड्याल रहेका छन् ।
नयाँ नेतृत्वका आकांक्षीहरूले आफूहरूले नेपाली समाज टेक्ससलाई प्रवासकै उत्कृष्ट समाजको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले स्वच्छ नेतृत्व, संस्थागत सुधार र समुदाय एकतालाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन् ।
वरिष्ठ उपाध्यक्ष जनक भण्डारीले “म समाजमा उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको रूपमा काम गरिसकेको छु । समाजको सेवा गर्ने इच्छाले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको र शान्त, सुसंस्कृत, आध्यात्मिक र एकताबद्ध समाज निर्माण मेरो उद्देश्य भएको बताए ।
त्यसैगरी उपाध्यक्ष बलराम पौडेलले “नेपाली समाज टेक्ससमा सदस्यदेखि उपाध्यक्षसम्मको अनुभवका आधारमा समाजलाई अझ सुदृढ र एकताबद्ध बनाउन अध्यक्ष पदको उम्मेदवार बन्न लागेको धारणा ब्यक्त गरे ।”
महासचिव विजय भुसालले अध्यक्ष पदमा उम्मेदवार बन्न लागेको जानकारी दिए । बिगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय छु । समाजका विभिन्न तहमा काम गर्दा पाएको अनुभवका आधारमा समाजलाई थप सक्रिय र उचाइमा पु¥याउने आफ्नो योजना रहेको सुनाए ।
नेपाली समाज टेक्ससका पूर्व उपाध्यक्ष तथा वर्तमान प्रवक्ता किरण पौड्यालले नेपाली समुदायलाई भाषणभन्दा काम र सेवा चाहिएकोले समुदायको भावनाको कदर गर्न ठोस योजनासहित उम्मेदवारी दिन लागेको नेपाली खबरीलाल अनलाइनसँग प्रतिक्रिया जनाए ।
