नेपाली खबरीलाल
ड्यालस, टेक्सस
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष सतेन्द्र साहले गैरआवासीय नेपाली समुदायभित्र एकता कायम गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार टेक्सस च्याप्टरद्वारा ड्यालसको अर्भिङमा आयोजित पद हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष साहले फुटेर गएकाहरु मिल्न आएमा आफूले स्वागत गर्ने र उचित स्थान दिने प्रतिबद्धता व्यक्त गरे ।
उनले हालको नेपालको विषम परिस्थितिमा गैरआवासीय नेपालीहरूले एकताबद्ध भई मातृभूमिको पुनर्निर्माणमा योगदान गर्नुपर्ने बताए । “गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा जेन जि आन्दोलनकै शैलीमा लामो समयदेखिको सिन्डिकेट तोडिएको छ । अहिले राष्ट्रिय समन्वय परिषद् र च्याप्टरहरूमा शतप्रतिशत युवाको प्रतिनिधित्व हुनु पनि एक प्रकारको जेन जि आन्दोलन हो,” उनले भने ।
कार्यक्रममा एनआरएनए आईसिसी उपाध्यक्ष सुनिल साहले परिवर्तित परिस्थितिमा गैरआवासीय नेपालीहरूको काँधमा थप जिम्मेवारी आएको भन्दै सबैलाई मातृभूमिका लागि सहकार्य र सहयोग गर्न आग्रह गरे ।
युलेश सिटीका उपमेयर टीका पौडेलले एनआरएनएले गर्ने रचनात्मक कार्यमा सिटीले सधैं सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारीले गैरआवासीय नेपालीको आवाज र मुद्दा बलियो बनाउन एकताबद्ध हुनुको विकल्प नभएको स्पष्ट पारे ।
यस्तै, एनआरएनए अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीले सबैको साथ र सहयोगले संस्थालाई अझ एकताबद्ध र सबल बनाउने प्रतिवद्धता जनाए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष दिपेन्द्र गुरागाईंले निर्वाचित कार्यवाहक अध्यक्ष दीपादेवी ऐरलाई पद हस्तान्तरण गरे । ऐरले टेक्सस च्याप्टरलाई सबै पक्षसँग मिलेर अघि बढाउने र संस्थालाई बलियो बनाउने अठोट व्यक्त गरिन् । उनले भनिन्, “पद ठूलो कुरा होइन, हामी सबै मिलेर एकताबद्ध भए संस्थाको आवाज बलियो हुन्छ ।”
निवर्तमान अध्यक्ष गुरागाईंले आफ्नो कार्यकालमा भएका प्रमुख कामबारे जानकारी दिँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रम च्याप्टरका सचिव आकाश अधिकारीले सञ्चालन गरेका थिए । कार्यक्रममा पद तथा गोपनियताको सपथ लिन छुटेका पदाधिकारी सदस्यहरुलाई अध्यक्ष साहले सपथ गराउनु भएको थियो ।
सो अवसरमा सहभागीहरूले बडादशैंका शुभकामना आदान–प्रदान गरेका थिए ।

