नेपाली खबरीलाल
ड्यालस, टेक्सस ।
लामो समयदेखि स्थगित रहेको नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशन तथा नयाँ नेतृत्व चयनका लागि आबश्यक निर्वाचन प्रक्रिया अगाडी बढाईएको छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको लिखित निर्देशनअनुसार तोकिएको छ महिनाभित्र अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको समितिका सभापति आनन्द बिष्टले बताउनु भयो ।
गत असार १६–२३ गते सम्पन्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले अधिवेशन हुन बाँकी रहेका सबै जनसम्पर्क समितिहरूमा नयाँ नेतृत्व चयन छ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको थियो । पार्टीको सोही निर्णयअनुसार जनसम्पर्क समन्वय विभागबाट प्राप्त लिखित निर्देशनपछि केन्द्र तथा २८ भन्दा बढी च्याप्टरहरूमा अधिवेशन सम्पन्न गर्न आवश्यक तयारी थालिएको सभापति बिष्टले नेपाली खबरीलालसँगको कुराकानीमा बताए ।
“हामीले विगतमा पनि अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न चाहेका थियौँ, तर पार्टी केन्द्रकै कारण ढिलाइ भएको हो । अहिले भने तोकिएको समयमा अधिवेशन र निर्वाचन सम्पन्न गरी नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न हामी पूर्ण रूपमा आतुर छौँ,” सभापति आनन्द बिष्टले भने ।
सभापति बिष्टका अनुसार, अधिवेशन तयारीका सन्दर्भमा गत सोमबार केन्द्रिय समिति तथा विभिन्न च्याप्टर सभापतिहरूको संयुक्त बैठक सम्पन्न भएको छ । उक्त बैठकमा पार्टीको निर्णय र समन्वय विभागबाट प्राप्त लिखित निर्देशनलाई स्वागत गर्दै, अधिवेशन सफल बनाउन सबै नेता तथा कार्यकर्ताहरू एकजुट भएर अघि बढ्ने निर्णय गरिएको छ ।
बैठकले सदस्यता वितरण, च्याप्टर अधिवेशन, क्रियाशील सदस्यता नवीकरण तथा अन्य आवश्यक तयारीका लागि विस्तृत कार्यतालिका बनाएर अघि बढ्ने निर्णय गरेको सभापति बिष्टले जानकारी दिएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय समितिबाट प्राप्त निर्देशनअनुसार आगामी असोज मसान्तसम्म सदस्यता वितरण, क्रियाशील सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण तथा अधिवेशनको कार्यतालिका तयार गरी केन्द्रमा पेश गर्नुपर्नेछ । साथै, पौष मसान्तभित्र सबै जनसम्पर्क समितिहरूको अधिवेशन सम्पन्न गर्नुपर्ने स्पष्ट गरिएको छ ।
