नेपाली खबरीलाल
बाल्टिमोर, मेरिल्याण्ड
अमेरिकाको मेरिल्याण्ड राज्यको केन्द्र बाल्टिमोरमा अन्तरराज्य मेरिल्याण्ड कप भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डले आगामी अगस्ट ९ र १० गते पहिलोपटक सो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले जुलाई ३१ गतेभित्र अनिवार्य रूपमा टीमदर्ता गरिसक्नुपर्नेछ । सहभागी टोलीहरूले टीम दर्ता वाफत ६ सय अमेरिकी डलर प्रवेश शुल्क तिर्नुपर्नेछ ।
समाजका अध्यक्ष बिक्रम शाहीका अनुसार प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरूबाट करिब १६ वटा भलिवल टोलीले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरि पहिलो हुने टोलीलाई ७ हजार ७ सय ७७ डलर तथा दोस्रो हुने टोलीलाई ४ हजार ४ सय ४४ डलर नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डले स्थापना कालदेखि नै नेपाली भाषा, संस्कृति तथा सुदूरपश्चिमको पहिचानको प्रवद्र्धन गर्दै दोस्रो पुस्तालाई मातृभूमिसँग जोड्ने कार्य गर्दै आएको छ । हाल संस्था खेलकुदमार्फत युवाहरूलाई नेपाली समुदाय र मातृभूमिसँग जोड्ने अभियानमा क्रियाशील रहेको समाजका संस्थापक अध्यक्ष दमनबिक्रम शाहले बताउनु भयो ।
मेरिल्याण्ड कप अन्तरराज्य भलिवल प्रतियोगितालाई आगामी वर्षहरूमा पनि नियमित रूपमा आयोजना गरिने छ । प्रतियोगितामा सहभागि भई हौसला प्रदान गरिदिनका लागि मेरिल्याण्डबासी सुदूरपश्चिमेली तथा नेपाली समुदायलाई सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डले अनुरोध गरेको छ ।
