नेपाली खबरीलाल
ड्यालस, टेक्सस
नेपाली समुदायको बाक्लो बसोबास रहेको क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा एक बृहत धार्मिक महोत्सव आयोजना हुन लागेको छ।
प्रवासमा नेपाली भाषा, कला, संस्कृति र नेपालीपनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्निया (NANC) ले श्रीमद् देवीभागवत नवाह ज्ञान महायज्ञ तथा बौद्ध शान्ति पूजा आयोजना गर्न लागेको हो।
धार्मिक महोत्सव मूल आयोजक समितिका संयोजक घनप्रसाद दवाडीका अनुसार महोत्सव यही जुन ७ देखि १५ गतेसम्म ९ दिनसम्म सञ्चालन हुनेछ। नेपालका चर्चित कथावाचक पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गर्ने यस कार्यक्रममा हिन्दू र बौद्ध धर्मका विविध पूजा–आजाका कार्यक्रमहरू हुने आयोजकले जनाएका छन्।
महोत्सवको पहिलो दिन कलश यात्रा आयोजना गरिनेछ। महोत्सवका प्रत्येक दिन पितृमोक्ष संकल्प पूजा, सत्यनारायण पूजा, रुद्री (वास्तु) पूजा, ग्रहशान्ति पूजा, लाखबत्ती पूजा जस्ता धार्मिक क्रियाकलापहरू गरिनेछन। त्यस्तै, बौद्ध गुरु तेन्जिङ लामा शेर्पाले बौद्ध पूजा सञ्चालन गर्नुहुनेछ, संयोजक दवाडीले जानकारी दिनुभयो।
धार्मिक महोत्सवबाट संकलित रकम हालै खरिद गरिएको नेपाली कम्युनिटी सेन्टर को नयाँ भवनको ऋण तिर्ने कार्यमा खर्च गरिनेछ। नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्निया (NANC) ले १९ लाख २० हजार ९ सय ४२ अमेरिकी डलरमा सो भवन खरिद गरेको थियो, जसमा १३ लाख १५ हजार डलर ऋण रहेको बताइएको छ।
करिब १०,८०० वर्गफुट क्षेत्रफलको उक्त भवनमा ५२८ जनाको क्षमता भएको सुविधा सम्पन्न मुख्य सभाकक्ष, २ सय सिटको क्याफेटेरिया, ६ वटा अफिस कोठा, भान्सा, स्टोर र शौचालयहरू छन्। साथै, ५४ हजार वर्गफुटको पार्किङ लटमा ११० भन्दा बढी सवारीसाधन पार्किङको व्यवस्था छ।
