नेपाली खबरीलाल
ड्यालस, अमेरिका
प्रवासी नेपाली मञ्च अमेरिकाको ड्यालसमा हुन लागेको चौथो अधिवेशनको तयारी पूरा भएको छ । यही मे ३१ देखि सुरु हुने दुईदिने राष्ट्रिय अधिवेशनका लागि करिब सबै तयारी पूरा भएको मूल व्यवस्थापन समितिका संयोजक गोकर्ण दाहालले जानकारी दिनुभयो ।
संयोजक दाहालका अनुसार ड्यालसको अर्भिङस्थित हिल्टन होटलमा हुने अधिवेशनको उद्घाटन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापाले मे ३१ का दिन दिउँसो २ बजे गर्ने कार्यक्रम तय भएको छ । अधिवेशनमा अमेरिकाका विभिन्न राज्य समितिबाट २३५ जना प्रतिनिधि र ११ जना पर्यवेक्षकको सहभागिता रहनेछ ।
अमेरिकी कानुनअन्तर्गत दर्ता भएको सामाजिक संस्था भएकाले प्रवासी नेपाली मञ्च अमेरिकाको यसपटकको अधिवेशनमा नेपालबाट कुनै पनि अतिथिलाई आमन्त्रण नगरिएको मञ्चले जनाएको छ ।
प्रवासी नेपाली मञ्च अमेरिकाको चौथो अधिवेशनको व्यवस्थापन मूल व्यवस्थापन समिति र टेक्सास राज्य समितिले संयुक्त रूपमा गरेका छन् ।
अधिवेशनका लागि आउने प्रतिनिधि तथा पर्यवेक्षकहरूका लागि ड्यालसको अर्भिङस्थित हिल्टन होटलमा आवासको व्यवस्था गरिएको र नजिकैको ‘भेटघाट रेस्टुरेन्ट’ मा खानाको व्यवस्था मिलाइएको टेक्सास राज्य समितिका अध्यक्ष राजु नेपालले जानकारी दिनुभयो ।
प्रवासी नेपाली मञ्च अमेरिकाले अधिवेशनको उद्घाटन कार्यक्रममा विज्ञहरूलाई बोलाएर विभिन्न व्यवसाय तथा पछिल्लो अमेरिकी कानुनका विषयमा आफ्ना सदस्यहरूलाई जानकारी दिने कार्यक्रमसमेत तय गरेको छ ।
