नेपाली खबरीलाल
ड्यालस, टेक्सस
विश्वभर छरिएर रहेका नेपालीहरूलाई मातृभूमि नेपालसँग जोड्न “जय नेपाल अन्तर्राष्ट्रिय फाउण्डेशन” ले अभियानका रूपमा विश्वव्यापी सञ्जाल निर्माण गर्ने भएको छ। डा. यादव पण्डितको नेतृत्वमा रहेको यस संस्थाले स्थापनाको छोटो अवधिमै विभिन्न ९ देशमा शाखा स्थापना गर्नुका साथै नेपालमा समेत देशव्यापी सञ्जाल निर्माण गरिसकेको जनाएको छ।
नेपाली मूलका व्यक्तिहरूलाई विश्वभर एकत्रित गर्दै नेपाली पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सञ्जाल निर्माण गर्न लागिएको फाउण्डेशनका महासचिव अग्नी चौलागाईंले जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म नेपाल, बेलायत, नर्वे, जापान, डेनमार्क, हङकङ, पोर्चुगल, अष्ट्रेलिया र अमेरिका गरी ९ देशमा शाखा स्थापना भई सक्रिय रहेका छन्।
त्यस्तै, अमेरिकाका २५ राज्यमा राज्य समिति, नेपालमा ७ वटै प्रदेश समितिहरू, ७७ वटै जिल्ला समितिहरू गठन भइसकेको र फाउण्डेशनलाई थप देशहरूमा विस्तार गरिँदै लगिने पनि जनाइएको छ।
नेपाल र विदेशमा प्रजातान्त्रिक संस्कार तथा मूल्यहरूको प्रवर्द्धन गर्दै एक सबल, नैतिक र न्यायपूर्ण समाज निर्माण गर्न सहयोग पुर्याउने उद्देश्यले, विश्वभर छरिएर रहेका लोकतन्त्रप्रति विश्वास गर्ने नेपालीहरूलाई सञ्जालमा जोड्दै आएको महासचिव चौलागाईंले बताउनुभयो।
