नेपाली खबरीलाल
ड्यालस, टेक्सस
अमेरिकामा रहेका मधेशी समुदायको संस्था ‘मधेशी एशोसिएसन इन अमेरिका “माँ” को चौथो महाधिवेशन आइतबार भर्जिनियाको म्यानसस शहरमा हुने भएको छ। सो महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व पनि चयन गर्नेछ।
“मधेशीको शान, आफ्नो संस्कृति, आफ्नो पहिचान” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त महाधिवेशनको उद्घाटन नेपालका पूर्ब उप प्रधानमन्त्री राजेन्द्र महतोले गर्ने कार्यक्रम तय गरिएको छ। चौथो महाधिवेशनको सम्पूर्ण तयारी लगभग पूरा भएको आयोजकले जनाएका छन्।
हरेक दुई वर्षमा आयोजना हुने “माँ” को यो चौथो महाधिवेशन यसपटक ऐतिहासिक रुपमा सम्पन्न हुने केन्द्रिय अध्यक्ष डा. संगीत रौनियारले बताउनुभयो।
महाधिवेशनका लागि अमेरिकामा रहेका १९ वटा च्याप्टरबाट करिब ३ सयभन्दा बढी मधेशी समुदायको सहभागिता रहने अपेक्षा गरिएको छ। महाधिवेशनमा सांस्कृतिक परेड, मधेशी कलाको प्रदर्शनी, तथा ‘मधेश पार्क’ को कार्ययोजना समेत उद्घाटन गरिनेछ।
‘माअ’ को चौथो महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपालबाट मधेशी नेताहरू, नेपाली दूतावासका प्रतिनिधि, गैरआवासीय नेपाली संघ अमेरिका, नेपाली समुदायका विभिन्न संस्था तथा अमेरिकी समुदायका प्रतिनिधिहरूको उपस्थिति रहने वरिष्ठ उपाध्यक्ष मुकेश सिंहले जानकारी दिनुभयो। उक्त अवसरमा संस्थालाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ।
