नेपाली खबरीलाल
ड्यालस, टेक्सस
नेपालको बुद्ध परिपथ अन्तरगत पर्ने नगरपालिकाका मेयरहरुले लुम्बिनी क्षेत्रको भ्रमणको लागि टेक्सासको युलेश सिटीका पदाधिकारीहरुलाई निम्तो दिएका छन ।
अमेरिका भ्रमणमा रहेको मेयरहरुको टोलीले बुधवार टेक्सासको युलेश सिटीका पदाधिकारीहरुसँगको समन्वय बैठकमा युलेश सिटीका मेयर लिन्डा मार्टिन, उपमेयर टीका पौडेल सहितका पदाधिकारीहरु तथा नागरिकलाई लुम्बिनी क्षेत्रको भ्रमणको लागि निमन्त्रणा दिएको हो ।
नेपालको लुम्बिनी क्षेत्र धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र हो । उक्त क्षेत्रको भ्रमणको लागि मेयरहरुको भ्रमण टोलीले युलेश सिटीका पदाधिकारीहरु तथा नागरिकहरुलाई लुम्बिनी क्षेत्र भ्रमणको लागि निमन्त्रणा दिएको गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष तथा पर्यटन बिभाग प्रमुख नेत्र पाण्डेले बताउनु भयो ।
युलेश सिटीको निमन्त्रणा तथा एनआरएनए अमेरिका, पर्यटन बिभाग तथा ईन्द्रेणी साँस्कृतिक संघको समन्वयमा आएको नेपाली जनप्रतिनिधिहरुको टोलीले युलेश सिटीका पदाधिकारीहरुसंग छलफल गर्नुका साथै फोहोर व्यवस्थापन, बिकास निर्माणको योजना तर्जुमा, कार्यान्वयन र अनुगमन लगायतका बिविध बिषयको अध्ययन तथा अबलोकन गरेको थियो । समन्वय बैठकमा नेपालकोे पर्यटन प्रबद्र्धन तथा बुद्ध परिपथको प्रचार प्रसारको लागि एक आपसमा सहयोग समन्वय र सहकार्य गर्ने युलेश सिटी तथा नेपाली भ्रमण टोलीले समझदारी समेत गरेका छन ।
युलेश सिटीमा आयोजना गरिएको कार्यक्रममा मेयर लिन्डा मार्टिनले नेपाली जनप्रतिनिधिहरुको अध्ययन भ्रमण टोलीलाई युलेश सिटीको तर्फबाट स्वागत गर्नुका साथै स्वागत पत्र हस्तान्तरण गरेकी थिईन् । यसैगरि नेपाली जनप्रतिनिधिहरुको भ्रमण टोलीले नेपालको पर्यटन प्रबद्र्धनको लागि नेपाली समुदायलाई पुर्याएको योगदानको लागि प्रशंसा पत्र हस्तान्तरण गरेको थियो ।
उक्त अवसरमा नेपाली जनप्रतिनिधिहरुको टोलीले नेपालको पर्यटन प्रबद्र्धनको लागि युलेश सिटीमा पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपा निर्माणमा युलेश सिटीले गरेको सहकार्य, सहयोग र समन्वयको लागि मेयर लिन्डा मार्टिन सहित सिटी टीमलाई धन्यवाद दिएको थियो ।
उक्त भ्रमण टोलीमा देवदह नगरपालिका रुपन्देही नगर प्रमुख ध्रुबप्रसाद खरेल, कपिलवस्तु नगरपालिका कपिलवस्तुका नगर प्रमुख सुदिप पौडेलरामग्राम नगरपालिका नवलपरासीका नगर प्रमुख धनपत यादव, तिलोत्तमा नगरपालिका रुपन्देहीका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल, नेपाल सरकारका उपसचिव रामप्रसाद ज्ञवाली, लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीका लेखा अधिकृत रामचन्द्र अर्याल र बुद्ध परिपथ नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछाने रहेका छन ।
नेपाली जनप्रतिनिधिहरुको भ्रमण टोली बिहिबार टेक्ससको राजधानी अस्टिनमा टेक्सस राज्य साँसदहरुसंग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।



