नेपाली खबरीलाल
ड्यालस, टेक्सस
यस बर्षको ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका २६ जना समाजसेवी महिलाहरु सम्मानित भएका छन ।
नेपाली समाज टेक्ससको महिला बिभागद्वारा शनिबार युलेशमा आयोजना गरिएको अन्तराष्ट्रिय महिला दिवस समारोहमा समाजसेवी महिलाहरुलाई सम्मानित गरिएको हो । सम्मानित हुने समाजसेवी महिलाहरुमा टेक्ससका सकृय नेपाली समुदायका जातीय तथा क्षेत्रीय संस्थाहरुमा आबद्ध अगुवा महिलाहरु, नेपाली समाज टेक्ससका पूर्ब अध्यक्षका श्रीमतिहरु रहेका छन ।
बिदेशको व्यस्त जीवनशैलीका बिचमा पनि समय व्यवस्थापन गरेर नेपाली समुदायका लागि आयोजना गरिएका बिभिन्न कार्यक्रममा सकृयताका साथ योगदान दिएकाले सम्मानित गरिएको नेपाली समाज टेक्ससका महिला संयोजक शान्ता गिरीले बताउनु भयो ।
११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा टेक्ससमा सकृय बिभिन्न संस्थाहरुले सहभागिता जनाएका थिए । उक्त अवसरमा आयोजना गरिएको बिभिन्न झाँकी, प्ले कार्ड सहित र्यालीले नेपाली पशुपतिनाथ मन्दिर रहेको स्थानमा वरिपरी परिक्रमा गरेको थियो ।
नेपाली समाज टेक्ससकी महिला संयोजक शान्ता गिरीको अध्यक्षता तथा श्रृष्टि शर्मा उप्रती र जिविका अधिकारीको सन्चालनमा सम्पन्न समारोहमा महिला स्वस्थ्य, अधिकार तथा कानूनी व्यवस्थाको वारेमा सचेतिकरण गरिएको थियो । उक्त अवसरमा डा. बिष्णुमाया उपाध्यायले महिला अधिकार र मानसिक स्वास्थ्य, अगुवा महिला नेतृ सुनिता बस्नेतले भर्जिनियामा भएको ममता काफ्ले हत्याकाण्डको बारेमा र कानून व्यवसायी जि डेभिडले अमेरिकी समुदायमा महिलाको अवस्था र कानूनी अधिकारको बारेमा जानकारीमूलक प्रस्तुती दिएका थिए ।
नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्रको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा नेपाली समाज टेक्ससका प्रबक्ता किरण पौड्यालद्वारा लिखित तथा निर्देशित महिला अधिकार सम्बन्धि सचेतनामूलक नाटक प्रदर्शन गरिएको थियो ।
सोही कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले टेक्ससमा प्रवासी नेपाली महिलाको अवस्था र नेपाली समाज टेक्ससले गरिरहेका कामको वारेमा जानकारी गराउनु भएको थियो ।


फोटो ः फोटो पत्रकार उपेन्द्र दाहाल, उपेन फोटोग्राफी ड्यालस
