नेपाली खबरिलाल
अस्टिन, टेक्सास
टेक्सासको राजधानी अस्टिनमा आईतबार आयोजना गरिएको नेपाल उत्सब (नेपाल डे परेड) मा पन्चे बाजाको धुनमा यो नेपाली शीर उचाली बोलको गीत घन्किएको छ । टेक्सासमा रहेका नेपाली समुदायका सामाजिक संस्थाहरुको आयोजनामा भएको नेपाल उत्सबमा सहभागि भएका नेपालीहरु पन्चे बाजाको धुनमा “ यो नेपाली शीर उचाली, संसारमा लम्किन्छ” बोलको गीतमा छमछमी नाच्दै परेड गरेका थिए ।
टेक्ससको राजधानी अस्टिन स्थित हट्टो सिटीमा आयोजना गरिएको परेड कार्यक्रममा नेपाली समुदायका बिभिन्न जातीय तथा क्षेत्रीय स्तरमा सामाजिक संस्थाहरुले प्रस्तुत गरेको मौलिक पोशाक, ढिकी, जाँतो, मठ मन्दिरहरु तथा साँस्कृतिक झाँकीहरु कार्यक्रमका प्रमुख आकर्षण थिए । नेपाली समुदायले नेपाल डे परेड कार्यक्रममा प्रस्तुत गरेको कला, संस्कृति, झाँकीहरु सहितको परेड स्थानीय अमेरिकी समुदायले पनि रुचिपूर्बक अबलोकन गरेको देखिन्थ्यो ।
कार्यक्रममा हौसला दिनका लागि अस्टिन स्थित हट्टो सिटीका मेयर माईक स्नाईडर लगायतका स्थानीय जनप्रतिनिधिहरु, युलेश सिटीमा उपमेयर टीका पौडल पनि परेडमा नेपाली सँगै सहभागि भएका थिए । नेपाल डे परेडमा पश्चात हट्टो शहरका मेयर माईक स्नाईडरले सामाजिक सन्जालमा एक सन्देश लेख्दै हट्टो सिटीमा बसोवास गर्ने संसारभरका मानिसहरुले गर्दा हट्टो बिविधतायुक्त शहरको रुपमा बिकास भएको धारणा समेत ब्यक्त गरे । मेयर स्नाईडरले हट्टो सिटीले संसारभरमा मानिस बसोवास गर्ने भएकाले हट्टो सिटीले बिभिन्न देशका २२ वटा भाषामा कार्यक्रम संचालन गरिरहेको समेत सन्देश मार्फत जानकारी दिए ।
नेपालीहरुले नेपाल डे लाई उत्साहपूर्बक मनाए । अर्को बर्षको नेपाल डे परेड अझ भव्य हुने मेयर स्नाईडरले बिश्वास व्यक्त गरेका छन ।
नेपाल डे परेड कार्यक्रममा सहभागि हुन करिब ४ घण्टाको दूरी यात्रा गरेर ड्यालस, ह्युस्टन, लबक, सानान्टनियोबाट समेत दर्जनौं नेपालीहरु अस्टिन पुगेका थिए । अस्टिनको हट्टो सिटी भवन प्रांगणमा जम्मा भएका नेपालीहरु मौलिक पोशाकमा सजिएर साँस्कृतिक झाँकीहरु, ढिकी जाँतो, नेपाली मठमन्दिर सहित परेडमा सहभागि भएका थिए ।
परेड पश्चात ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) को प्रांगणमा आयोजना गरिएको कार्यक्रममा आयोजकका तर्फबाट ग्रेटर अस्टिन नेपाली समाजका अध्यक्ष बिदुर खतिवडा, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली समाज ह्युस्टनका सल्लाहकार द्रोण गौतम, युलेश सिटीका उप मेयर टीका पौडेलले नेपाली समुदायको यस्तो ऐतिहासिक जमघटले प्रवासी नेपालीहरूको आत्मसम्मान बढाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागिलाई आयोजकको तर्फबाट खानाको समेत व्यवस्था मिलाईएको थियो । नेपाल डे परेड कार्यक्रम ग्रेटर अस्टिन नेपाली समाज अस्टिन, नेपाली समाज टेक्सस, ह्युस्टन नेपाली समाज, सानअन्टोनियो नेपाली समाज, नेपाली समाज लबकले संयुक्त रुपमा आयोजना गरेका थिए । उक्त नेपाल डे कार्यक्रममा नेपाली समुदायका दर्जनौं जातीय तथा क्षेत्रीय संस्थाहरुले पहिचान सहित सहभागिता जनाएका थिए ।
नेपाल–अमेरिका द्वत्य सम्बन्ध स्थापनाको ७५ वर्ष पुगेको अवसरमा सन् २०२३ मा टेक्सस राज्यसभाले फ्रेबुअरी १६ लाई ‘नेपाल डे’ घोषणा गरेको थियो । सोही दिनको सम्झानामा नेपाली समुदायले फ्रेबुअरी १६ लाई नेपाल उत्सब (नेपाल डे परेड) का रुपमा मनाउदै आएका छन ।
फोटोमा नेपाल डे परेड कार्यक्रम










