नेपाली खबरिलाल
ड्यालस, टेक्सास
नेपाली राजदूताबास वासिङटन डिसिद्वारा क्यालिफोर्नियाकोे सान् फ्रान्सिस्कोमा आयोजना गरिएको ९ दिने राहदानी कन्सुलर सेवा शिविरबाट सयौं नेपाली समुदाय प्रत्यक्ष रुपमा लाभान्वित भएका छन ।
गैरआवासीय नेपाली सँघ अमेरिका क्यालिफोर्निया च्याप्टर र नेपाली एशोसियशन अफ नर्दन क्यालिफोर्निया (नान्स) को व्यवस्थापन सहयोगमा सन्चालन गरिएको शिबिरमा १ हजार ५ सय ६ जना नेपालीलाई राहदानी सम्बन्धि सेवा र ९ जना गरि जम्मा १ हजार ५ सय १५ जनालाई अधिकृत वारेशनामा सेवा प्रदान गरिएको दूताबासले जनाएको छ ।
गैरआवासीय नेपाली संघ क्यालिफोर्नियाका अध्यक्ष हरि ओझाका अनुसार शुरुमा जनवरी महिनाको २२ तारेखदेखि ५ दिन शिबिर सन्चालन गर्ने भनिएपनि सेवाग्राहीहरुको चाप बढेपछि ३ दिन थप गरेर सेवाग्राहीलाई सेवा दिईएको थियो । उक्त राहदानी कन्सुलर सेवा शिविरमा क्यालिफोर्निया राज्यका बिभिन्न स्थानमा बसोवास गर्ने नेपाली समुदायमा अतिरिक्त आसपासका राज्यबाट पनि नेपालीहरु सेवाको लागि क्यालिफोर्नियाकोे सान् फ्रान्सिस्को पुगेका थिए ।
शिबिरको समापन गर्दै दुताबासका कार्यबाहक राजदूत एवं डिपुटी चिफ अफ मिसन शरदराज आरणले नेपालीहरुलाई घरआगनमै सेवा प्रदान गर्ने नेपाल सरकारको नीति अनुसार दूताबासले क्यालिफोर्नियाको सान् फ्रान्सिस्कामा कन्सुलर सेवा शिबिर सन्चालन गरिएको बताउनु भयो ।
अमेरिका भौगोलिक क्षेत्र ठूलो भएका कारण दूताबासबाट सरल र सहज रुपमा सेवा प्रदान गर्न कठिनाई भएकाले नेपाल सरकारले क्यालिफोर्नियाको सान् फ्रान्सिस्को र टेक्सासको ड्यालसमा नेपाल सरकारले दूताबास सेवा कार्यालय स्थापना गर्न लागेको जानकारी दिनु भयो ।
यसैगरि क्यालिफोर्नियाका अबैतनिक महावाणिज्यदूत ऋषि ढकालले नेपालीहरुको बाक्लो बसोवास रहेको क्यालिफोर्नियामा सन्चालन गरिएको कन्सुलर शिबिरमा सयौं नेपालीहरु लाभान्वित भएकोमा खुशी व्यक्त गर्नु भयो ।
शिबिरको समापन कार्यक्रममा गैरआवासीय नेपाली सँघ अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझा, नेपाली एशोसियशन अफ नर्दन क्यालिफोर्निया (नान्स)का अध्यक्ष प्रितेश कार्की र श्री गुरुङले दूताबासले राहदानी कन्सुर सेवा शिबिर सन्चालन गरेकोमा धन्यवाद दिनु भयो ।

