नेपाली खबरिलाल
ड्यालस टेक्सास
नेपाली राजदूताबास वासिङटन डिसिद्वारा क्यालिफोर्निया राज्यको सान् फ्रान्सिस्कोमा सन्चालन गरिएको ५ दिने कन्सुर शिबिरको पहिलो दिन बुधबार दुई सय जना सेवाग्राही लाभान्वित भएका छन । क्यालिफोर्निया र आसपासका क्षेत्रमा बसोवास गर्ने ७ सय जना नेपालीहरुले दूताबासबाट प्रदान गरिने बिभिन्न सेवाको लागि नाम दर्ता गराएकोमा शिबिरको पहिलो दिनमा दुई सय जनालाई सेवा प्रदान गरिएको हो । दूताबास कार्यालयका अनुसार सेवाको लागि नाम दर्ता गराउन छुटेकाहरुलाई समय थपेर भएपनि सेवा प्रदान गरिने छ ।
जनताको घर दैलोमा नै पुगेर सेवा दिने नेपाल सरकारको नीति अनुसार शिबिर सन्चालन गरिएको र सेवाको लागि नाम दर्ता गर्न छुटेकालाई पनि समय थपेर सेवा प्रदान गरिने दूताबास कार्यालयले जनाएको छ ।
शिबिरको उद्घाटन गर्दै दूताबासका कार्यबाहक राजदूत एवं डिपुटी चिफ अफ मिसन शरदराज आरणले दूताबासबाट प्रदान गर्ने सेवा लिनका लागि समय र खर्चका दृष्टिकोणले झण्झटिलो भएकाले घर दैलोमा नै सेवा दिन कन्सुलर शिबिर सन्चालन गरिएको बताउनु भयो । नेपाली दूताबासका सेवाहरु सहज र सरल रुपमा प्रवाह गर्न परराष्ट्र मन्त्री आरजु राणा देउवा र सचिव अमृतबहादुर राईको प्रष्ट निर्देशन रहेको बताउँदै कार्यबहाक राजदूत आरणले घर दैलोमा नै गुणस्तरीय सेवा पुर्याउन प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसैगरि क्यालिफोर्नियाका अवैतनिक महावाणिज्य दुत ऋषि ढकालले क्यालिफोर्निया तथा आसपासका क्षेत्रमा नेपाली समुदायको बाक्लो बसोवास रहेकाले दूताबासले कन्सुलर शिबिर सञ्चालन गरेको बताउनु भयो ।
स्थानीय सहयोगी सँस्था नेपाली एशोशियसन अफ नोर्दन क्यालिफोर्निया (नान्स) का अध्यक्ष प्रितेश काकी र गैर आवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरी ओझाले वासिङटन डिसीबाट दूरदराजमा रहेको क्यालिफोर्नियामा कन्सुलर शिबिर सन्चालन गरेकोमा धन्यवाद दिनु भयो ।
फोटो सौजन्य ः पत्रकार ईश्वरी न्यौपाने



