नेपाली खबरिलाल
ड्यालस, टेक्सस
तामाङ समुदायको लोकप्रिय पर्ब सोनाम ल्होछार पर्बको अवसरमा टेक्सासको ड्यालसमा “सोनाम ल्होछार साँस्कृतिक साँझ” आयोजना गरिने भएको छ । तामाङ समाज टेक्ससले बिभिन्न स्थानमा बसोवास गर्ने तामाङ समुदायलाई एकै स्थानमा जम्मा गराएर “सोनाम ल्होछार साँस्कृतिक साँझ” कार्यक्रम आयोजना गर्न लागेको हो ।
यस बर्षको सोनाम ल्होछार पर्बको अवसरमा आगामी ८ फ्रेबुअरी शनिबारका दिन अर्भिङ स्थित Amber Hall, 3761 Irving Mall,75062 मा बेलुकी ५ बजे देखि “सोनाम ल्होछार साँस्कृतिक साँझ” कार्यक्रमको आयोजना गरिने छ । उक्त अवसरमा उक्त अवसरमा तामाङ समुदायको परम्परागत साँस्कृतिक गीतहरु, नृत्यहरु तथा बिभिन्न नेपाली गीत सँगीत प्रस्तुत गर्दै ल्होछारको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरि मनाईने तामाङ समाज टेक्ससका अध्यक्ष कुमार तामाङले बताउनु भयो ।
उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरु, गायिका सुबानी मोक्तान, निर्मला घिसिङ र गायक हेम वाईबा लगायतका कलाकारहरुको समेत सहभागिता रहने तामाङ समाज टेक्ससले जनाएको छ ।
अध्यक्ष तामाङका अनुसार यस बर्षको सोनाम ल्होछार पर्बलाई भव्य रुपमा सम्पन्न गर्नका लागि तयारी शुरु गरिएको छ । ड्यालसको अर्भिङमा आयोजना गरिने सोनाम ल्होछार पर्बमा सहभागि भई तामाङ भेषभुषा तथा सँस्कृति अबलोकन गरिदिन तामाङ समाज टेक्सासले सबै नेपाली समुदायलाई आग्रह गरेको छ ।
तामाङ समुदायको लोकप्रिय पर्ब सोनाम ल्होछार हरेक बर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने गरिए पनि प्रवासमा रहेका तामाङ समुदायले कामको व्यस्ततालाई हेरी बिदाको दिन सबैलाई पायक पर्ने मिति र स्थानमा सोनाम ल्होछार पर्ब आयोजना गरिएको हो ।
नेपाली समुदायमा तामाङ सँस्कृति उत्कृष्ट सँस्कृतिका रुपमा चिनिन्छ । प्रवासमा दोश्रो पुस्तालाई भाषा तथा तामाङ सँस्कृति हस्तान्तरण गर्ने उद्देश्यले तामाङ समाज टेक्सासले सामुहिक रुपमा तामाङ समुदायका लोकप्रिय चाडपर्बहरु मनाउँदै आएको छ ।

फोटो ः गुगल
