नेपाली खबरिलाल
ड्यालस, टेक्सास
टेक्सासको ड्यालसमा रहेका कृष्ण प्रणामी समुदायहरुले युलेशमा प्रणामी भिलेज बनाउने भएका छन । सुबिधा सम्पन्न कृष्ण मन्दिर, अतिथी गृह सहितको प्रणामी भिलेज निर्माणको लागि कृष्ण प्रणामी समुदायले निर्माण प्रकृया समेत अगाडी बढाएका छन । इन्वेस्टमेन्ट ग्रुप (किपिआइजी) को शनिबार सम्पन्न पहिलो साधारण सभाले युलेसको हाइवे १० सँगै जोडिएको मन्दिरको स्वामित्वमा रहेको चार एकड जग्गामा कृष्ण प्रणामी भिलेज निर्माण गर्ने निर्णय गरेको हो ।
कृष्ण प्रणामी मन्दिर निर्माणका लागि आबश्यक प्रकृया अघि बढिसकेकाले छिट्टै नै निर्माण कार्य शुुरु भई सन २०२९ सम्ममा निर्माण कार्य सक्ने योजना रहेको प्रणामी समुदायले जनाएका छन ।
कृष्ण प्रणामी भिलेका लागि कुल चार एकड जमिन मध्य दुइ दशमलव ७ एकड मन्दिर र बाँकी इन्भेष्टमेन्ट ग्रुपले अतिथीगृह, व्यबसायीक प्रयोजनमा हुनेगरि निर्माण गर्न लागिएको केपीआइजीका अध्यक्ष चन्द्र प्रसाइले जानकारी दिनु भयो । अध्यक्ष प्रसाईका अनुसार समुदायलाई थप एकताबद्ध गर्दै आध्यात्मिक विकास, सामुदायिक सेवा, र सांस्कृतिक प्रबद्र्धन गर्न श्रीकृष्ण प्रणामी समाज र ग्रुपले भिलेजको अबधारणा अघि सारेको हो ।
साधारण सभामा प्रमुख अतिथीका रुपमा उपस्थित युलेस सिटीकी मेयर लिण्डा मार्टिनले कृष्ण प्रणामी समुदायले अघि सारेको योजनाको प्रशंसा गर्दै आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिईन । मेयर मार्टिनको उक्त बृहत योजनामा समुदायसंगको सहकायमा जोड थियो । अर्का अतिथी उप मेयर टिका पौडेलले कृष्ण प्रणामी समुदायको योजनामा सिटीले आबश्यक सहयोग गर्ने बताएका थिए ।
कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिरका अध्यक्ष नुरनाथ सुवेदी, बोर्ड अफ ट्रष्टीका अध्यक्ष तथा ग्रुपका बोर्ड अफ डाइरेक्टर डा. मिलन पौडेल र श्री बाईज्युराज महिला मण्डलीकी अध्यक्ष तथा ग्रुप ट्रष्टी सदस्य शारदा न्यौपाने समेत सहभागी थिए ।
साधारण सभामा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टी अध्यक्ष डा. प्रेम अधिकारी, मन्दिर कार्यकारिणी समितिका उपाध्यक्ष छवि चापागाईले प्रणामी समुदायको उक्त योजनामा आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।


