नेपाली खबरिलाल
ड्यालस, टेक्सास
नेपाली समाज टेक्ससले नेपाली समुदायका लागि आपतकालीन राहात प्रदान गर्न एक कोष स्थापना गर्ने भएको छ ।
नेपाली समाज टेक्सासको आईतबार सम्पन्न बार्षिक साधारण सभाले आपतकालीन राहात कार्यक्रम सन्चालनका लागि एक अक्षय कोष स्थापना गर्ने निर्णय गरेको हो ।
टेक्सासमा हरेक दिन समुदायका समस्याहरु पनि थपिदै गएका छन । समुदायलाई आपतकालीन राहात प्रदान गर्न सहयोग पुगोस भनेर साधारण सभाले अक्षय कोष स्थापना गर्ने निर्णय गरेको नेपाली समाज टेक्सासले जनाएको छ ।
साधारण सभाले अक्षय कोषमा सहयोग गर्न सार्बजनिक आह्वान समेत गरेको छ । कोषको लागि ब्यक्ति तथा सँस्थाले उपलब्ध गराएको सहयोग बराबारको रकम नेपाली समाज टेक्सासले थपेर (म्याचिङ फण्ड) कोषमा जम्मा गरिने छ ।
अब हरेक पटक समुदायलाई सहयोग गर्न गो फण्ड मि सन्चालन गरेर आर्थिक संकलन गर्ने परिपाटी अन्त्य गर्नु पर्छ । नेपाली समाज टेक्ससले स्थापना गर्न लागेको अक्षय कोषलाई दिगो बनाएर प्रभावकारी बनाउनु पर्छ, अध्यक्ष राजेन्द्र वाग्लेले बताउनु भयो ।
कोष स्थापना भएपछि सवारी दुर्घटना, मानसिक समस्या, गम्भिर प्रकृतिका स्वास्थ्य समस्याहरु, दाहसँस्कार, शब नेपाल पठाउने लगायतका समस्याहरुमा तत्काल राहात पुग्ने अपेक्षा गरिएको छ ।
वार्षिक साधारण सभाले समाजको लागि भौतिक सँरचना खरिद गर्ने, ग्लोबल नेपाली पाठशालालाई थप प्रभावकारी बनाउने, समुदाय चेतावनी प्रणालीको स्थापना, नेतृत्व बिकास, सवारी चालक अनुमति पत्रको परीक्षा नेपाली भाषामा समेत उपलब्ध गराउन पहल गर्ने लगायतका निर्णय गरेको छ । साधारण सभाले नेपाली समाज टेक्सास तथा समुदायका कार्यक्रममा सहयोग गर्ने ब्यक्ति तथा सँस्थाहरुलाई धन्यवाद समेत दिएको छ । साधारण सभाले नेपाली समाज टेक्सासका महासचिब बिजय भुसाललाई पितृ शोक परेकोमा हार्दिक समबेदना समेत प्रकट गरेको छ ।
नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेको अध्यक्षता तथा बरिष्ठ उपाध्यक्ष जनक भण्डारीको सन्चालनमा सम्पन्न वार्षिक साधारण सभामा बार्षिक प्रगति प्रतिबेदन अध्यक्ष राजेन्द्र वाग्ले तथा आर्थिक प्रतिबेदन कोषाध्यक्ष रामकृष्ण यादबले प्रस्तुत गर्नु भएको थियो ।
वार्षिक साधारण सभाको प्रमुख अतिथी युलेश सिटीका मेयर लिन्डा मार्टिन र बिशिष्ट अतिथी प्रो मेयर टीका पौडेल, पूर्ब अध्यक्ष डा. प्रेम अधिकारी, भुवन आचार्य, रामसि पोखरेल, दिनेश शर्मा, नेपालकी चर्चित सामाजिक अभियन्ता रेनु राजभण्डारी , एनसिएससिका अध्यक्ष सीता सापकोटा रहनु भएको थियो ।

