नेपाली खबरिलाल
ड्यालस, टेक्सास
गत मंसीर महिनाको १ गते देखि शुरु भएको बारा जिल्लाको गढीमाई मेलामा बिहिबार देखि एकसाता लामो निःशुल्क स्वास्थ्य शिबिर सन्चालन गरिएको छ ।
मधेशी एशोसिएशन ईन अमेरिका (माँ) द्वारा आयोजना गरिएको उक्त स्वास्थ्य शिबिरको मधेश प्रदेश सभाका सदस्य बच्चा रावत अहिरले उद्घाटन गर्नु भयो । हरेक पाँच बर्षमा लाग्ने बाराको बिश्व प्रसिद्ध गढीमाई मेलामा स्वास्थ्य सेवा दिन मधेशी एशोसिएशन ईन अमेरिकाले निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेकोमा प्रमुख अतिथी प्रदेश सभा साँसद बच्चा रावत अहिरले प्रशँसा गर्दै धन्यवाद समेत दिनु भयो ।
शिबिर उद्घाटन कार्यक्रममा बिशिष्ट अतिथी जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य रामकिशोर तथा अन्य अतिथीहरुमा सुबर्ण गाउँ पालिकाका प्रबक्ता बिजयकुमार सिंह, आवाज एफएमका मोहनलाल पण्डित लगायतका नेता तथा सामाजिक अभियन्ताहरुको उपस्थिती रहेको थियो ।
बाराको महागढीमाई नगरपालिकामा पर्ने गढीमाई मेला बिश्व प्रसिद्ध मेलाको रुपमा परिचित छ । एक महिनासम्म लाग्ने वढीमाई मेलाको अन्तिम सातामा दर्शनार्थीहरुको घुईचो समेत लाग्ने गर्दछ । मेलामा आउने भक्तजनहरुलाई आबश्यकता अनुसार, स्वास्थ्य परिक्षण, उपचार तथा औषधी बितरण गरिने “माँ” अमेरिकाले जनाएको छ ।
शिबिर सन्चालनको लागि सँस्थाका केन्द्रिय सदस्य मुकेश रोयल सँयोजकका रुपमा तोकिएका थिए भने केन्द्रिय बरिष्ठ उपाध्यक्ष मनोज सिंह, सचिब प्रकाश भाई मधेशिया तथा स्थानीय स्वयंसेवक सतेन्द्र यादवले सहयोग गर्नु भएको माँ केन्द्रिय अध्यक्ष डा. संगीत रौनियारले बताउनु भयो ।

